नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गरेका छन्।
बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता निधिले यस्तो बताएका हुन्। उनले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही नभएको आरोप लगाए।
उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्ने जिकिर गरे। निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस भएको दावी गरे।
उनले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले मधेशको अधिकार र समृद्धिका लागि कांग्रेसले निरन्तर काम गर्दै आएको दाबी गर्दै घर–घरमा पुगेर पार्टीका पक्षमा मतदान गर्न अपिल नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे।



