यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको बेलामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रजातन्त्र दिवसको अवसर पारेर दिइएको शुभकामना वक्तव्यलाई अस्वभाविक भएको प्रतिक्रिया राजनीतिक दलका नेताहरूले दिएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा बुधबार पूर्वराजा शाहले अहिलेकै अवस्थामा हुन लागेको निर्वाचनले देशलाई निकास नदिने जिकिर गर्दै चुनाव नगर्नका लागि सबै दलहरुसंग समझदारी हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ ।
निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’ नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वराजा शाहको उक्त प्रस्ताव असान्दर्भिक भएको प्रतिक्रिया दिइन् । उनले चुनावी अभियानमा रहेकी उपसभापति भुसालले अहिले पार्टीको प्राथामिकता चुनाव भएकाले त्यसबाट पछाडि फर्किन नसक्ने बताइन् । उनले फागुन २१ गतेको चुनावमा विशिष्ट अवस्थामा हुन लागेको बताउँदै अव स्थगित हुने सम्भावना नरहेको बताइन् ।
‘चुनाव हाम्रो प्राथामिकता हो। यो चुनाव विशिष्ट अवस्थामा हुन लागेको छ, उपसभापति भुसालले भनिन्, ‘संविधान र लोकतन्त्रलाई ट्राकमा ल्याउन हुन लागेकाले हामीले चुनाव स्वीकार गरेका हौँ ।’ उनले चुनावपछि मात्रै अरु विषयमा जान सकिने बताइन् । उनले चुनावपछि मात्रै संविधान संशोधनको विषयमा जान सकिने बताइन् ।
त्यस्तै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे अब बाँकी रहेको १४ दिनको अवधिमा चुनाव रोकिने देखिदो कुनै पनि कारण नभएको बताए । पूर्वमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘चुनाव रोकिने कुरा पहिल्यैदेखि आएको हो । तर त्यसको आधार देखिँदैन ।’ निर्वाचन रोकिने वातावरण नभए पनि पूर्वराजा शाहले भने जस्तै देशका समस्याको समाधान नदिने कुरामा उनी पनि सहमत छन् ।
सडकबाट भएको परिवर्तनमा लगत्तै अन्तरिम सरकार बन्ने र त्यसले संविधान संशोधन गरेपछि मात्रै चुनावमा जानु पर्ने भए पनि जेन– जी आन्दोलनपछि त्यस्तो हुन नसेकको उनको भनाइ छ । दलहरूले पनि संविधान संशोधन गर्ने र आन्दोलनका माग सम्बोधन गर्ने ठोस र सामूहिक प्रतिवद्धता नजनाएको अवस्थामा अघिल्लो संसदको निरन्तरता मात्रै हुन सक्ने पाण्डेले बताए ।
नेता पाण्डेले भने, ‘हाम्रो निर्वाचन प्रणालीका कारण फेरि मिलीजुली सरकारकै संभावना छ। असफल संसदको निरन्तरतामा अर्को संसद आउने मात्रै अवस्था छ । त्यसैले भन्न सकिन्छ, चुनाव रोकिने आधार छैन । र यसले समाधान पनि दिँदैन ।’
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता दिनानाथ शर्माले पूर्वराजाको प्रस्ताव ढिलो आएको बताए । पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले भने, ‘चुनाव स्थगित हुँदैन। यो प्रस्ताव ढिलो आयो। चुनावको कार्यतालिका भन्दा पहिल्यै आउनुपथ्र्यो । अहिले बेकार छ ।’ उनले पूर्वराजाको एजेण्डा बोक्ने दलहरू पनि चुनावमा सहभागी भएकाले जनताको मत जित्न सुझाए । उनले राप्रपासहितका राजसंस्था पक्षधर दलहरूले चुनावमा राम्रो परिणाम आउन नसक्ने भएकाले पूर्वराजाको प्रस्ताव आएको हुन सक्ने टिप्प्णी गरे ।
नेता शर्माले भने, ‘आफ्नो पक्षले चुनावमा राम्रो परिणाम ल्याउन सक्तैन भन्ने मनसायका साथ आएको छ । त्यसलाई स्वीकार गर्न सकिँदैन ।’ पूर्वराजा शाहले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको भन्दै वक्तव्य सार्वजनिक गरेपछि विभिन्न खाले टिप्पणी हुन थालेको छ । उनले विगतका आन्दोलनले के दियो भन्ने कुराको समीक्षा गर्नुपर्ने समय आएको पनि बताए ।
पूर्वराजा शाहले सार्वजनिक गरेको वक्तव्यमा भनेका छन्, ‘सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटिको भूमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्, विगतमा अनेकौं नाम र आवरणमा अनेकौं आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिए भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ ।’
पूर्वराजा शाहले हाम्रा शत्रु विपन्नता र अस्थिरता भएको उल्लेख गर्दै एक नेपालीले अर्को नेपालीलाई सत्रु ठान्ने गलत संस्कृति विकास भएकोतर्फ चिन्ता व्यक्त गरे । उनले भनेका छन्, ‘मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको त्यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटुलाई मात्रै छोएको नभइ हाम्रा लागि एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।’
पूर्वराजा शाहले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णबिराम लगाउँदै परस्पर सद्भाव र एकताको राजनीति गर्न पनि सबैसँग आग्रह गरे । उनले राष्ट्रिय सहमति गरेर चुनाव गर्नुपर्नेमा द्वन्द्वलाई यथावत् राखेर चुनावमा जान लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।


