२०८२ फाल्गुन ७, बिहीबार ०७:१०

नेपाली कांग्रेसमा प्रवेश गरेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपा पार्टी दागैदाग भएका व्यक्तिहरुको पार्टी रहेको आरोप लगाएकी छिन् ।

जनकपुरधाममा आयोजित कांग्रेसको ‘प्रतिज्ञा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ वैकल्पिक शक्ति भनिएको रास्वपाले जनताको अपेक्षामा कुठाराघात गरेको आरोप लगाइन् । पार्टी प्रवेशपछि बोल्दै उनले वैकल्पिक राजनीतिको नारा दिएको रास्वपा अहिले अवसरवादी, अपराधी र सामन्तीहरूको अखडा बनेको दाबी गरिन् ।

‘रास्वपाले अबको पालो युवा र नयाँको भनेर नारा त दियो, तर व्यवहारमा दागी र ठेकेदारहरूलाई काँध थाप्ने काम मात्रै ग¥यो,’ शर्माले भनिन्, ‘समाजले तिरस्कार गरेका र थुप्रै मुद्दा लागेका पात्रहरूलाई छान्ने प्रवृत्ति रास्वपामा हाबी भयो ।’ उनले लोकतन्त्रको रक्षा, संघीयताको सुदृढीकरण र मधेशको अधिकार स्थापित गर्नका लागि आफूले पुरानो र ऐतिहासिक पार्टी कांग्रेस रोजेको प्रष्ट पारिन् ।

मधेशलाई नयाँ दिशा निर्देश गर्न कांग्रेसको रूपान्तरणकारी अभियानमा जोडिनुको विकल्प नदेखेर आफू फर्किएको उनको भनाइ थियो । शर्माले नेपाली कांग्रेस ८० वर्षे राजनीतिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै मधेशको मुद्दालाई प्राथमिकतामा राख्ने दाबी गरिन् । वर्तमान नेतृत्वले मधेशमै आएर उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै उनले मधेशी जनताले कांग्रेसलाई साथ दिनुपर्ने धारणा व्यक्त गरिन् ।

उनले विगतका निर्वाचनहरूमा मधेशले नेताहरूलाई मत दिए पनि अपेक्षाअनुसार प्रतिफल नपाएको गुनासो गरिन् । ‘हरेक चुनावमा मधेशले नेताहरूलाई भोट दियो । तर, नेताहरूले मधेशलाई चोटैचोट दिए,’ उनले भनिन् ।

Comment


Related News

Latest News

Trending News