२०८२ फाल्गुन ८, शुक्रबार ०६:५०

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले औपचारिक रुपमा घोषणा पत्र सार्वजनिक गरेको छ ।

जेन– जी आन्दोलनबाट सत्ताच्यूत भएका नेकपा एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रमा जेन– जी उमेर समूहलाई फ्रि डेटा उपलब्ध गराउनेदेखि जन्मदर बढाउनेसम्मको योजना सार्वजनिक गरेको छ ।

काठमाण्डुमा बिहीबार एक कार्यक्रमकाबीच अध्यक्ष ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई प्रत्येक महिना १० जिबी डेटा फ्रि उपलब्ध गराउने योजनालाई विशेष महत्वका साथ अघि सारिएको छ ।

सार्वजनिक गरिएको घोषणा पत्रमा सूचना प्रविधिक्षेमात्र काम गर्नेहरूका लागि १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने, विदेशमा रहेका श्रमिकको खातामा योगदानमा आधारित वर्षमा ५ हजार रुपैयाँ सरकारले थपिदिने, विद्यार्थीलाई २० लाखसम्म निव्र्याजी ऋण उपलब्ध गराउने योजना समेटिएको छ ।

एमालेले घट्दो जन्मदरलाई लक्षित गर्दै जन्मदर बढाउने योजना पनि सार्वजनिक गरेको छ । जसका लागि २० हजार मातृ शिशु पोषणभत्ता उपलब्ध गराउने घोषणा पत्रमा छ । त्यस्तै पारिश्रमिकसहितको इन्टर्नसिप, १० कक्षासम्म खाजा र किशोरीका लागि प्याड निःशुल्क, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउने योजना एमालेको छ । शिक्षकको मर्यादक्रम तोक्ने, उनीहरूलाई सामाजिक सुरक्षा प्राणालीमा आवद्ध गराउने, स्वास्थ्य स्वयमसेवीको भत्ता बढाएर वार्षिक २० पु¥याउने, उद्यमी महिलालाई २० लाखसम्म निव्र्याजी ऋण दिने र गर्भवती महिलाको ५ लाखसम्म जीवन बीमा गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै २०७२ सालको भदौसम्म ऋण लिएका गरिब परिवारको २५ हजारसम्म ऋण मिनाह गर्नेसमेत एमालेको घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले पाँच वर्षमा ११ काम ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई मुख्य एजेण्डा बनाएको छ । खरानी बनाइएको सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका संरचनाहरू उठाउने काम समयसीमा तोकेरै अगाडि बढाउने एमालेले घोषणा पत्रमा प्रतिवद्धता जनाएको छ ।

७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको ८० पृष्ठ लामो दस्तावेजमा एमालेले एकातिर राज्यकोषमा ठूलो व्ययभार पर्ने गरी नगद र सुविधा वितरण गर्ने नीति लिएको छ । त्यस्तै देशको अर्थतन्त्रको आकारलाई निकै माथि पु¥याउने ठूला सपनाहरू प्रस्तुत गरेको छ । आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकारलाई १०० खर्ब र १० वर्षभित्र २०० खर्ब रुपैयाँ पु¥याउने एमालेले योजना अघि सारेको छ ।

आर्थिक अवस्थालाई गुणात्मक फड्को मार्दै ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र पाँच वर्षभित्रै नेपालीको औसत प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु¥याउने लक्ष्यलाई एमालेको महत्त् वाकांक्षी आर्थिक मार्गचित्रका रूपमा घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार नेपालको वर्तमान प्रतिव्यक्ति आय करिब १ हजार ४५६ अमेरिकी डलर मात्र छ ।

एमालेले घोषणापत्रमा उल्लेख गरेको लक्ष्य भेट्टाउन अबको पाँच वर्षमा प्रतिव्यक्ति आयलाई दोब्बरभन्दा बढी बनाउनुपर्ने हुन्छ । घोषणापत्रमा वार्षिक ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । एमालेले पाँच वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब रुपैयाँ पु¥याउने लक्ष्य रहेको सार्वजनिक गरेको छ ।

हाल नेपालको अर्थतन्त्रको कुल आकार करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ । पाँच वर्षमा अर्थतन्त्रको आकार करिब दोब्बर बनाउन अहिलेको लगानीको ढाँचा र पुँजीगत खर्च गर्ने सरकारी क्षमतामा व्यापक सुधार हुनुपर्ने देखिन्छ । उक्त घोषणापत्रले स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने र रेमिट्यान्सको परनिर्भरता घटाउने भनेको छ । तर हाल नेपालको जीडीपीको करिब २५ देखि ३० प्रतिशत रेमिट्यान्स आइरहेको छ ।

ठूलो संख्यामा युवा पलायन भइरहेको अवस्थामा रोजगारी सिर्जना गर्ने भनेपनि ठोस कार्ययोजना देखिँदैन । वार्षिक लाखौँको संख्यामा विदेशिने युवालाई स्वदेशमै रोकेर उत्पादनमा लगाउनु र वैदेशिक व्यापारमा रहेको करिब ९० प्रतिशतको आयातको हिस्सा घटाउनु सबैभन्दा ठूलो व्यावहारिक चुनौती हुनेछ ।

अध्यक्ष ओलीले घोषणापत्र सार्वजनिक गर्दै यी लक्ष्यहरू असम्भव नरहेको र समृद्धिको सपना देख्नु कुनै अपराध नभएको जिकिर गरे ।मतदातालाई आकर्षित गर्न एमालेले यसपटक निकै वितरणमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । त्यस्तै पूर्वाधार विकासतर्फ पनि एमालेले निकै ठूला योजनाहरूलाई निरन्तरता दिएको छ ।

१० वर्षभित्र पूर्व– पश्चिम विद्युतीय रेलमार्ग सम्पन्न गर्ने, पुष्पलाल, मदन भण्डारी र हुलाकी राजमार्गलाई पाँच वर्षभित्र पूर्णता दिने तथा काठमाण्डु–तराई द्रुतमार्गलाई तोकिएकै समयमा सक्ने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News