२०८२ फाल्गुन ८, शुक्रबार ०६:५८

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण र मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुभकामना व्यक्त गर्दै सबैमा लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउने आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कर्णले २००७ सालको क्रान्तिलाई स्मरण गर्दै त्यसले जहानियाँ शासन अन्त्य गरी आधुनिक नेपालको आधार तयार पारेको बताए । प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उनले श्रद्धाञ्जली अर्पण गरे । सन्देशमा उनले मधेशलाई बलिदानीभूमिको रूपमा चित्रण गर्दै भने, ‘यो प्रदेश सधैँ न्याय, समानता र पहिचानको पक्षमा अग्रपङ्क्तिमा उभिरहेको छ । लोकतन्त्रलाई राजनीतिक व्यवस्थामा मात्र सीमित नराखी समावेशी र जनमुखी बनाउने साझा प्रतिबद्धता आवश्यक छ ।’

प्रदेश प्रमुख कर्णले सांस्कृतिक विविधता र सामाजिक सद्भाव जोगाउँदै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन सबैमा आग्रह गरे । उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै नागरिकलाई विवेकपूर्ण र सक्रिय मतदान गर्न अनुरोध गरे ।

यस्तै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र पारदर्शितालाई सुदृढ बनाउँदै समृद्ध मधेश तथा समुन्नत नेपाल निर्माणमा एकजुट हुन आह्वान गरेका छन् । उनले पनि नेपाली जनताको बलिदानी सङ्घर्ष, त्याग र समर्पणबाट प्राप्त प्रजातन्त्रको ऐतिहासिक महत्त्व स्मरण गर्दै प्रजातन्त्र स्थापनाका क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शहीद परिवारप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार सुशासन, सामाजिक न्याय, समावेशी विकास र आर्थिक समृद्धिको लक्ष्यसहित अघि बढिरहेको जनाउँदै उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा रोजगारीका क्षेत्रमा गरिएका पहलमार्फत प्रजातन्त्रको प्रतिफल जनतासम्म पु¥याउने दृढता व्यक्त गरेका छन ।

Comment


Related News

Latest News

Trending News