प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका घटना पनि बढदै गएको धनुषा प्रशासनले कडाइ सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै सार्वजनिक स्थानमा टाँसिएका चुनावी सामग्री तत्काल हटाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको हो ।
कार्यालयका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निस्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता माघ ४ गते राति १२ बजेदेखि लागू भइसकेको छ ।
सो आचारसंहितामा सरकारी निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सबै पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रावधान उल्लेख गरिएको छ । तर, धनुषा जिल्लाका विभिन्न स्थानमा आचारसंहिता विपरीत पर्चा, पम्प्लेट, पोस्टर, टुल तथा ब्यानर जथाभावी टाँसिएको पाइएको भन्दै प्रशासनले चिन्ता व्यक्त गरेको छ ।
सूचनामार्फत् यस्ता सामग्री यथाशीघ्र हटाउन आग्रह गर्दै अन्यथा आचारसंहिता अनुसार कारबाही हुने चेतावनी दिइएको छ । प्रशासनले निर्वाचनलाई मर्यादित, पारदर्शी र मितव्ययी बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई जिम्मेवार बन्न आग्रह गरेको छ । साथै निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र बनाइएको जनाउँदै उल्लंघनका गतिविधि भेटिएमा तत्काल कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।
निर्वाचन नजिकिँदै जाँदा धनुषामा प्रचार सामग्री व्यवस्थापन र आचारसंहिता पालना प्रशासनको मुख्य प्राथमिकतामा परेको देखिएको छ ।



