रौतहटको गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय गौरमा सिडियो दिनेस सागर भुसालको प्रमुख उपस्थितिमा आज दिउँसो ३ बजेदेखि सुरु भएको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।
सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने, लगायत ६ बुन्दे प्रतिबद्धता दोहोर्याइएको प्रशासनले जनाएको छ।
यसअघि रौतहटको गौर नगरपालिका–६ सवगढामा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध खडा भई ढुंगा हानाहान हुँदा दर्जनौँ मानिस घाइते भएका थिए। स्थानीय सत्य नारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गर्दा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो। विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गएरातिको झडपमा ६ जना घाइते भएका थिए। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएर स्थिति नियन्त्रणमा लिइएको थियो।
सोही विषयलाई लिएर आज बिहान करिब सवा ९ बजे चार पाँचसय जना मानिसको भीड जम्मा भई पुनः झडप सुरु भएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणका लागि १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए।
सो क्रममा स्थानीयसँगै दुई जना प्रहरीसमेत घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि केहीलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।



