२०८२ फाल्गुन ९, शनिबार ०७:३६

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सप्तरीको चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारले घरदैलोलाई तीव्रता दिएका छन् । सप्तरी जिल्लाबाट दुई पार्टीका राष्ट्रिय अध्यक्ष पनि चुनावी मैदानमा छन् । जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सप्तरी– ३ र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउत सप्तरी– २ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू अहिले मतदातासंग भेटघाट गर्ने, समस्या सुन्ने र आश्वासन बाँड्दै मतदाताको मन जित्न घरदैलोमा दौडधुपमा व्यस्त छन् । जेन– जी आन्दोलनपछि मधेश प्रदेशमा दल र अवसर नपाएका उम्मेदवारहरुको चर्चा हुँदै गर्दा सप्तरीमा भने मधेश केन्द्रित दलकै वर्चस्व देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी नेपाल नै मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सप्तरीको चारैवटा निर्वाचन क्षेत्रबाट १ ० २ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । चार लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार २८३ तथा अन्य २३ जना छन् ।

चारवटै निर्वाचन क्षेत्रमा २९६ मतदानस्थल र ५६२ मतदान केन्द्र तोकिएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख पाँच हजार ९२२ मतदाता रहेका छन् । यस क्षेत्रमा २० प्रत्यक्ष र १४ स्वतन्त्र गरी ३४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सप्तरी– २ मा जित नदोहोरिने चुनावी इतिहास रहिआएको छ ।

०५१ यता यस क्षेत्रमा कसैले पनि दोहो¥याएर चुनाव जितेका छैनन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा नेपालका उमेश यादव र रास्वपाका रामजी यादवबीच कडा प्रतिस्पर्धामा हुने सम्भावना देखिन्छ । तत्कालीन नेकपा माओवादीबाट ०७० मा संविधानसभा चुनाव जितेर सिचाइँमन्त्रीसमेत भइसकेका उमेश यादव यस क्षेत्रबाट लगातार पाँचौँपटक चुनाव लड्दै छन् ।

०६४ यता दुई संविधानसभा, ०७४ को प्रतिनिधिसभा र ०७९ को प्रदेश सभा चुनावसहित उनी पटक–पटक मैदानमा उत्रिए पनि दोस्रो संविधानसभाबाहेकका अन्य चुनाव जित्न सकेका छैनन् । रास्वपाका रामजी यादव भने पहिलोपटक चुनावी मैदानमा छन् । गत निर्वाचनमा जसपा नेपालका उपेन्द्र यादवलाई पराजित गर्दै विजयी भएका जनमतका अध्यक्ष सीके राउत यसपटक पनि उम्मेदवार बनेका छन् । उनलाई आफ्नै सहकर्मीहरुले चुनौती दिएका छन् ।

०७९ मा सप्तरी २ (१) प्रदेश सभा जितेर मुख्यमन्त्री बनेका सतीशकुमार सिंह अहिले स्वाभिमान पार्टीबाट मैदानमा छन् । पूर्वमुख्यमन्त्री सिंह तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । डा. राउतका पूर्वनिकट सहयोगी तथा जनमत पार्टीका पूर्व राष्ट्रिय प्रवक्ता शरदसिंह यादवले जनअधिकार पार्टीबाट उम्मेदवारी दिएका छन् ।

जनमत पार्टीकै मुस्लिम अनुहार मानिने अनिश अन्सारी राष्ट्रिय मुक्ति पार्टीबाट प्रतिस्पर्धामा छन् । त्यस्तै सप्तरी– ३ मा २२ जनाले उम्मेदवारी दिएका छन् । ७४ मतदानस्थल र १४४ मतदान केन्द्र रहेको यस क्षेत्रमा कुल मतदाता संख्या एक लाख ११ हजार ८७१ छ । रूपनी, विष्णुपुर र राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी सप्तरीका पाँच स्थानीय तह यस क्षेत्रमा समेटिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रवेशसंगै यस क्षेत्रका ‘हाई प्रोफाइल’ बन्न पुगेको छ । जसपा नेपालका नेता–कार्यकर्ताको दबाबका कारण उनी यस क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा जसपा नेपालका उपेन्द्र यादव, कांग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरीबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बढी छ । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ताराकान्त चौधरी, ०७४ मा तत्कालीन राजपाका चन्द्रकान्त चौधरी (दुवै दाजु–भाइ) यस क्षेत्रबाट निर्वाचित भएका थिए । थारू र मुस्लिम मतदातामा उनीहरूको परम्परागत पकड छ ।

चन्द्रकान्तका छोरा अमरकान्त चौधरी रास्वपाबाट उमेदवार बनेका छन् । यहाँ काका–भतिजा नै चुनावी मैदानमा छन् । ०७९ को निर्वाचनमा कांग्रेसका दिनेशकुमार यादव २६ हजार १६६ मतसहित विजयी भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यही क्षेत्रबाट उम्मेदवार हुँदै आएका उनी यसपटक बिरासत जोगाउन मैदानमा छन् । विशेष महाधिवेशनबाट बदलिएको कांग्रेस यसपटक सप्तरीमा चारवटै क्षेत्र जित्ने गरी रणनीतिसहित अघि बढेको नेपाली कांग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले बताए ।

सप्तरीको सबै क्षेत्र जित्ने दाबी उनले गरे । जिल्लामा वडावडामा समिति गठन गरेर चुनावी प्रचारप्रसारमा होमिएका छौं । पछिल्लो समय कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको उनले बताए ।

त्यस्तै जसपा नेपाल सप्तरीका सचिव निरज मुक्तिले चारवटै क्षेत्रमा चुनाव जित्ने गरी प्रचारप्रसार अघि बढेकाले योजना अनुसार अघि बढेको बताए ।

नेकपा सप्तरीका इन्चार्ज अमर मण्डलले चारवटै क्षेत्रमा चुनाव प्रचारप्रसार अगाडि बढाएका बताए । उनका अनुसार सबै उम्मेदवार घरघरमा गएर भेटघाट गरिरहेका छन् ।

मतदाताको समस्या सुनिरहेका छन्, थप रणनीति बनाएको उनको भनाइ छ । उनले विगतको भन्दा यसपटक नेकपाको पक्षमा माहोल बढेको बताए ।

Comment


Related News

Latest News

Trending News