यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र पारेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेसलगायतका राजनीतिक दलका उम्मेदवारले आचारसंहिता विपरीत यत्रतत्र चुनावी प्रचारप्रसार टाँसिएका छन् । स्थानीय प्रशासनले आचारसंहिता विपरीतका करिब २० हजार प्रचार सामग्री स्थानीय प्रशासनले हटाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको छ । स्थानीय प्रशासनले जनाए अनुसार सार्वजनिक स्थल, विद्युतका पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइएको छ ।
निर्वाचन आचारसंहिता पालना गराउनका लागि प्रशासनले उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो । तर तोकिएको समयावधिमा पनि उम्मेदवारहरुले सामग्री नहटाइएपछि प्रशासन आफैं खटेर शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले शहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै कारबाहीस्वरूप हटाइएको जानकारी दिए ।
पछिल्ला दिनमा उम्मेदवार हरूले प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट, तुल व्यानरसहितका झण्डाहरुसमेत अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो ।
विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिता विपरीत सामग्री टाँसिएको भेटिएको थियो । निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन र शहरलाई सफा राख्न प्रशासनले निगरानी बढाएको जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा दल र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा सभामार्फत प्रचारमा सक्रिय भएका छन् ।
तर, प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न प्रशासनले पुनः आग्रह गरेको छ । प्रशासनले अबदेखि नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने र सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गरिने चेतावनी दिएको छ ।



