२०८२ फाल्गुन ९, शनिबार ०७:५३

अपहरित बालिकाकालाई सप्तरी प्रहरीले सकुशल उद्धार गरेको छ भने सो घटनामा संलग्न एक युवकलाई पक्राउ समेत गरेको छ ।

मंगलवार सांझदेखि अपहरणमा परेकी खड्क नगरपालिका–८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनलाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सफल घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकालाई अपहरण गरी फिरौती माग्ने आरोपमा सोही पालिकाको वडा नम्बर ९ लालपट्टीका ३० वर्षीय इम्तियाज अहमदलाई पक्राउ गरिएको छ ।

रुपनी गाउँपालिका–१ स्थित खाँडो क्षेत्रबाट इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक संजीब बोगटी र प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले घटनामा संलग्न अहमदलाई पक्राउ गरेको थियो । उनकै बयानको आधारमा सोही स्थानबाट बालिकाको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताएका छन् ।

घरबाट हराएकी बालिकाको खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा अभियुक्त अहमदले बालिकाका बुवा इमरान खानलाई फोन गरी फिरौती रकमसहित रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा आउन भनेपछि मोबाइल ट्रैंकिंगको आधारमा उनलाई पक्राउ गरिएको केसीले जनाएको छ ।

पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव वेच बिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Comment


Related News

Latest News

Trending News