मिथिला माध्यमिकी परिक्रमा शनिवार छठौ दिन महोत्तरी जिल्लाको मडई पुगेको छ भने आइतवार ध्रुव कुण्ड पुग्नेछ ।
मडईमा मुनेश्वर महादेवको मन्दिरमा परिक्रमामा सहभागीहले दर्शन तथा पूजापाठ गरेका छन् । फागुन ४ गतेदेखि शुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर हुँदै मडई पुगेका हुन ।
मडईमा विश्रामपछि धुवकुण्डका लागि प्रस्थान गर्नेछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गरिरहेका छन् ।
महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालीको फागुन महिना उल्लास एवं भक्तीमय हुने भएको छ । ध्रुव कुण्ड पश्चात कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ । परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् ।
स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजन, कीर्तन तथा सत्संग गरेर रात बिताउँछन् । नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थल छन् ।
मिथिला महात्म्यअनुसार १८ औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाकारुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम नगर क्षेत्रको परिक्रमा गर्नेछ ।


