जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्यूलाई अहिले बिहान साढे ८ बजेसम्म खुकुलो पारेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यू आदेशलाई निरन्तरता दिनुभएको हो । तर अत्यावश्यक कामका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा कर्फ्यू केही खुकुलो पारिएको छ । साढे ८ बजेपछि भने फेरि अर्को आदेश नआउँदासम्म पुनः कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।
यसैबीच केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ । साथै रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।


