सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ ।
उपत्यकाबाट खटिन लागेका अधिकृतलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीलाई भर्चुअल माध्यमबाट आज सशस्त्रका आईजी राजु अर्यायले विशेष निर्देशन दिएका छन् ।
उनले निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउनसक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् । अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरु आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरु र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएका हुन् ।
सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत अर्यालले निर्देशन दिए । निर्वाचन बिथोल्न खोज्नेहरुको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरलाई स्पष्ट हुन उनले निर्देशन दिएका छन् ।


