२०८२ फाल्गुन ११, सोमबार ०७:२८

प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारका समर्थकहरुको प्रचारप्रसारमा उच्छृंखल गतिविधिका कारण राजनीतिक दलहरुबीच तनाव बढ्दै गएको देखिएको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारका समर्थकहरु प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघनका घटनाहरूमा संलग्नता रहेको पाइएको छ । दलका समर्थकहरुले विभिन्न ठाउँमा प्रतिस्पर्धी पार्टीको झण्डा जलाउनेदेखि पार्टी कार्यालय तोडफोडसम्मका घटना भएका छन् ।

फागुन ७ मा दाङको तुलसीपुर उपमहानगरपालिका– ५ स्थित वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाइएको थियो । रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले कार्यकर्ताले रास्वपाको सम्पर्क कार्यालय तोडफोड गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न अंकित झण्डा जलाएपछि रास्वपाले चुनाव भाँड्ने काम गरेको आरोप लगाए ।

फागुन ९ गते आफ्नो निर्वाचन क्षेत्र झापा– ५ मा ओलीले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल शुरु गरेको छ ।’ ओलीले यस्ता क्रियाकलापलाई लोकतन्त्रविरोधी र अराजनीतिक चरित्रको संज्ञा दिए । घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने रास्वपाले यसमा आफ्नो संलग्नता नरहेको जिकिर गरेको छ । तर निर्वाचन आयोगले भने रास्वपालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन प्रचारप्रसारमा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने नियम बनाएको छ । सोको पालना भने भएको छैन । आयोग कारबाहीको प्रक्रियामा जान उजुरीको पर्खाइमा रहेको छ । त्यस्तै बारा निजगढकी सुबु धितालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तारा चुनाव चिह्न अंकित झण्डा च्यात्नेदेखि अभद्र व्यवहार देखाएकी थिइन् ।

सामाजिक सञ्जालमा विरोध भएपछि उनले राजनीतिक चेत नभएको र लहैलहैमा यस्तो काम गरेको भन्दै सार्वजनिक रुपमै माफी मागिन् । जन्ती जाने क्रममा साथीहरूको लहैलहैमा लागेर तारा चुनाव चिह्न अंकित झण्डाको अपमान गरेको उनको प्रस्टीकरण छ । ‘हामी विवाहमा जन्ती जाने क्रममा साथीभाइको लहैलहैमा लागेर ताराअंकित झण्डाको अपमान हुने गरी भिडियो बनाएको कार्यप्रति क्षमायाचना गर्दछु,’ उनले भनिन् ।

राजनीतिक चेतनाको अभावका कारण आफूबाट गल्ती हुन भएको स्वीकार्दै उनले भनिन्, ‘कुनै राजनीतिक चेतना नभएको हामीजस्ता जेन– जीहरूले सबै दलप्रति सम्मान गर्नुपर्छ । साथै, कसैले पनि यस्तो कार्य नगर्न अनुरोध गर्दछु ।’ अर्का कन्टेन्ट क्रिएटर मलिकले पनि एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएका छन् । उनले सूर्य अंकित झण्डा जलाउँदै एमालेको ’सै पनि एमाले मै पनि एमाले’ गीतलाई बिगारेर गीत बनाएका छन् ।

मधेश प्रदेशमा एक भिडियो भाइरल बनेको छ, जहाँ बालिकाको समेत दुरुपयोग भएको पाइएको छ । बिजुलीको पोलमा रहेको कांग्रेसको झण्डा निकालेर तीन जना बालकलाई पिसाब फेर्न लगाइएको छ र इफेक्टबाट आवाज बिगारेर बालकहरूलाई रास्वपाले दुरुपयोग गरेको आरोप लागेको छ । त्यस्तै अर्को भिडियो पनि सामाजिक सञ्जालमा रास्वपाको चुनाव चिह्न घण्टी र नेसनल मंगोल अर्गनाइजेसनको चुनाव चिह्न (कुखुराको भाले) अंकित झण्डा छ ।

हेल्मेट लगाएका एक युवकले मंगोल पार्टीको झण्डा झिकेर च्यात्छन् र भुईंमा बजार्दै लात्तीले हानेको भिडियो भाइरल भएको छ । यता रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल आफ्ना समर्थकले कानुनको बर्खिलापका काम गरेको भए कानुनी दायरामा सम्बन्धित निकायले ल्याउनुपर्ने र त्यसमा सघाउन रास्वपा तयार रहेको बताइन् । उनले भनिन्, ‘हाम्रा समर्थक हुन् वा अरु जोकोही हुन्, उनीहरूमाथि कानुनसम्मत कारबाही हुनुपर्छ । हाम्रो पार्टी सभापतिले समेत भनिसक्नुभएको छ, रास्वपा भए पनि कारबाही हुनुपर्छ, हाम्रो औपचारिक धारणा नै यही हो ।’ रास्वपा जिम्मेवार दल भएकाले चुनाव भाँड्न कुनै काम नगरेको रावलले जिकिर उनले गरिन् । उनले भनिन्, ‘घुसपैठ भएको पुष्टि भएको छ । हामी चुनाव बिथोल्ने काम गर्दैनौँ । छोटो समय भए पनि हामी परिपक्व छौँ । आरोप पनि हामीले निर्वाचन बिगार्न खोजेको आरोप छ, यो हास्यास्पद हो,’ रावलले भनिन् ।

निर्वाचन आयोगले भने सम्बन्धित निकायबाट कारबाहीका लागि जानकारी आएमा प्रक्रियामा जाने बताएको छ ।

Comment


Related News

Latest News

Trending News