२०८२ फाल्गुन ११, सोमबार ११:०३

रौतहटको सदरमुकाम गौर नगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ। गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच देखिएको विवाद क्रमशः साम्य हुँदै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बिहान १० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९) क अनुसार जारी उक्त आदेशले कर्फ्यू प्रभावित क्षेत्रमा आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।

सबगढा क्षेत्रमा उत्पन्न साम्प्रदायिक तनाव र सम्भावित झडपलाई नियन्त्रणमा लिन तथा शान्ति सुरक्षामा कुनै जोखिम नआओस् भन्ने उद्देश्यले कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो। पछिल्लो समय अवस्था नियन्त्रणमा आउनुका साथै दुवै पक्षबीच संवाद र सहमतिबाट वातावरण शान्त बन्दै गएपछि कर्फ्यू हटाइएको हो।

जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिहान १० बजेदेखि कर्फ्यू पूर्ण रूपमा हटाइएको जानकारी दिँदै हाल गौर क्षेत्रमा शान्ति सुरक्षा अवस्था सामान्य रहेको बताएका छन्।

Comment


Related News

Latest News

Trending News