जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन्द्र साह (बालेन) कहाँ थिए भन्दै प्रश्न गरेका छन् । उनले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए ।
रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी जनता आफ्नो पहिचान र अधिकारका लागि रगत बगाइरहेका बेला बालेन कता थिए भन्दै प्रश्न गरेका हुन्।
मधेसका आधारभूत र मूल मुद्दाहरूमा बालेनको कुनै स्पष्ट धारणा वा योगदान नभएको टिप्पणी गर्दै उनले केवल चर्चाका भरमा राजनीति नचल्ने बताए। अध्यक्ष यादवले पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता पात्रहरूको चर्चा बढी देखिए पनि जमिनमा उनीहरूको कुनै प्रभाव नरहेको दाबी गरे।
मधेसका जनताले आफ्नो अधिकारका लागि कसले लड्यो र कसले अवसरवादको राजनीति गर्यो भन्ने कुरा राम्रोसँग बुझेको उल्लेख गर्दै उनले ‘घण्टी’ हल्लाउँदैमा मधेस नहल्लिने चेतावनी दिए। मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने शक्ति जसपा मात्रै भएको जिकिर गर्दै उनले नयाँ शक्तिहरूलाई ग्राउन्ड रियालिटी बुझ्न सुझाव दिए।
मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उनले दाबी गरेका छन् ।



