२०८२ फाल्गुन १२, मंगलवार ०७:४५

मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरुले सोमवार कञ्चनवनमा रंगअबिर र गुलाल उडाउँदै होली मनाएका छन् ।

त्रेता युगमा भगवान राम र सीताले कञ्चन वनमा होलि खेलेको सम्झनामा १५ दिने परिक्रमा यात्रामा सहभागिहरु रंग ,गुलाल र अबिर एक आपसमा दलेर खुशियाली साटासाट गर्दै होलीको शुभकामना आदान प्रदान गरि होलि मनाएका हुन् । ध्रुवकुण्डबाट सोमवार विहानै कञ्चनवन पुगेका परिक्रमा यात्रामा सहभागि साधु, सन्त, महन्थ, नागा, गृहस्थ लगायतका श्रद्धालुहरुले सबै एक आपसमा मिलेर नाच्दैं गाउँदै होली मनाउँदा सवै परिक्रमावासीको अनुहार र कपडा रंगअबिरले रंगीचंगी देखिएको थियो ।

कञ्चनवन पुगी जनकपुर स्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको शुरुवात गर्ने गर्दछन् । वसन्तपञ्चमीदेखि नै फागु पर्वको शुरुवात भएको मानिएपनि मिथिलाञ्चलमा परिक्रमा यात्रिले कञ्चनवनमा होली खेलेपछि मात्रै होलिको विधिवत शुरुवात हुने परम्परा रहेको छ ।

धनुषा स्थित कचुरीको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा अग्नि कुण्डबाट किशोरी जीको डोलाका साथ हनुमानगढिबाट शुरु भएको परिक्रमाका यात्रुहरु कल्याणेश्वर फुलहर ,मटिहानी , जलेश्वर ,मडै , ध्रुवकुण्ड हुँदै शनिबार कञ्चनवन पुगेको हो । मिथिला महात्मय अनुसार अठारौं सताब्दीदेखि माध्यमीकि परिक्रमाको रुपमा मनाईदैं आएको यस धर्मयात्राका सहयात्रिले रात्रि भजन किर्तन गरि १५ दिन विताउने गर्दछन् ।

विश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु जनकपुरधामको हनुमानगढीबाट शुरुवात गर्दै भारतको कल्याणेश्वर, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै ध्रुवकुण्ड, कञ्चनवन, हुदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आईपुग्छन र पूर्णिमाको दिन जनकपुरधाममा नगरको परिक्रमाको रुपमा अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्पन्न गर्ने छन ।

सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने जनविश्वासका साथ यस धर्म यात्राका यात्रुहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ । यात्रामा नेपाल भारतका लाख भन्दा बढी साद्युसन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको छ ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । मिथिला परिक्रममा सहभागि हुनेले १५ विश्रामस्थलमा नाङ्गो खुट्टा पैदल हिँडेर यात्रा गर्नु पर्ने हुनाले परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राको रुपमा पनि हेर्ने गरिन्छ ।

परिक्रमाका सहभागिहरु १५ दिन सम्म लसुन, प्याज र माशाहारी भोजनको परित्याग गर्ने र एक छाक मात्रै खाना खाने प्रचलन समेत रहि आएको छ । साथै परिक्रमा यात्रिले परिक्रमा अवधि भर गृह प्रवेश नगर्ने र खुल्ला आकास मुनि पाल टाँगेर वनवासी जीवन बिताउने गर्छन ।

१५ दिने यात्राको क्रममा यात्रिहरुले दिनरात मर्यादा पुरुषोतम राम र सिताको भजन किर्तन गर्ने र उनले आफनो जिवनमा मर्यादा विपरित कुनै काम नगरेको जस्तै परिक्रमा वासीले पनि परिक्रमा घुम्दा बनाईएको नियमपरिधि भित्रै रहेर यो यात्रामा सहभागि हुने यसको मूख्य विशेषता रहि आएको छ । परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने धार्मिक मान्यता रहिआएको परिक्रमाका सहभागिहरु बताउँछन ।

परिक्रमामा नेपाल भारतका साधु सन्त महन्थ लगायत लाख भन्दा बढी धर्मावलम्बीहरुको सहभागिता रहेको छ । मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाईन्छ ।

मन्दिरमा होस वा कुनै पुजा पाठ अवश्यनै मन्दिरको एक फन्का घुम्ने कार्य गर्ने गरिन्छ त्यस कार्यलाई नै परिक्रमा भन्नेर परिभाषित गरेको पाईन्छ । परिक्रमा कुनै निश्चित स्थानको एक फन्को घुम्नुलाई वुझिन्छ । विषेश गरि मिथिलामा विवाह देखि मृत्यु पर्यन्त समेत परिक्रमा गर्ने प्रचलन रहेको छ । परिक्रमा वृहत, मध्य र अन्तरगृह गरि तिन प्रकारको हुन्छ ।

वृहत परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गंगा र पश्चिममा गण्डक सम्मको परिक्रमा पछि मात्र सम्पन्न हुने भएकोले आज भोलि यस्तो परिक्रमा गरिदैन । तर, मध्य परिक्रमा अठारौं शताब्दी भन्दा पूर्व देखि मनाईदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला ५ दिन सम्म मनाईने गरिन्थ्यो ।

तर यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिनमा परिणत गरे । जसले गर्दा अहिले ती परिक्रमामा साघुसन्त, महन्थ, गृहस्थी, नागा लगायतका वृहद उपस्थिती हुने गर्छ । यो परिक्रममा भारत र नेपालको श्रद्धालुहरुको सहभागिता रहने गरेकोले यसलाई भारत र नेपालको सदभावको सेतुको रुपमा पनि लिने गरिन्छ ।

यसले आर्थिक टेवा समेत दिने गर्छ । तर परिक्रमाको प्रत्येक विश्रामस्थलको आ आफनौ विशिष्ट महत्वको रहेपनि अहिले अवस्था ती स्थलहरुको अवस्था दयनिय हुदैं गईरहेको छ । ती स्थलहरुमा रहेको जलाशय, मठ, मन्दिर सरकारी उपेक्षाको कारण जिर्ण बन्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News