सर्लाही–४ का लागि नेपाली कांग्रेसका सभापति गगन थापाले छुट्टै प्रतिज्ञापत्र ल्याएका छन् । सोमबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा यो क्षेत्रमा गर्ने कामबारे छुट्टै रुपमा उल्लेख गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । अहिले घरदैलोमा रहेका थापाले प्रतिज्ञापत्रमा नौ बुँदे प्रतिज्ञा गरेका छन् । यसमा उनले ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ भनेका छन् । उनले यस क्षेत्रमा पूर्वाधार विकासमा काम गर्ने प्रतिज्ञा गरेका छन्। ‘कतै वर्षौंदेखि अलपत्र पुल छ, कतै डुवान समस्या छ त कतै बाँधको मर्मत अपरिहार्य छ ।
कतै नहर र सडक, कहीँ ढल निकास र खानेपानीको समस्या छ । कतै सिँचाइको असुविधा छ र त्यसका लागि बिजुली पनि चाहिएको छ भने कुनै ठाउँमा कृषि भण्डारण, कृषि औजार र पूर्वाधारको आवश्यक छ,’ थापाले प्रतिज्ञापत्रमा भनेका छन्, ‘बाटोदेखि बाँधसम्म थुप्रै पू्र्वाधार निर्माण र मर्मत गर्नुपर्नेछ ।
ती कामहरू कुनै संघ सरकारसँग सम्बन्धित छन्, कुनै प्रदेशसँग। यी जुन जुन तहका सरकारसँग सम्बन्धित छन्, ती सरकारहरूसँग समन्वय गरेर म पूर्वाधारको समस्याको हल गर्नेछु। यो मेरो प्रतिज्ञा हो ।’ उनले विभिन्न समुदायमा पुग्दा स्वास्थ्य, शिक्षा, पोषणका साथै महिला, बालबालिकाका समस्या र विपन्न समुदायको उत्थानका लागि सुझाव पाएको बताएका छन् । सबै स्थानीय तहका ५१ वटै वडाका समस्याको सूची बनाएको र त्यसमा काम गर्ने उनले जनाएका छन् ।
थापाले यस क्षेत्रका बालबालिकाको शिक्षका लागि ‘गुणस्तरीय शिक्षा– कापी कलम अभियान’ सञ्चालन गर्ने उल्लेख गरेका छन् । स्वास्थ्य संस्थाहरू मार्फत घर नजिकै सहज रुपमा गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि ‘सुलभ स्वास्थ्य– स्वस्थ नागरिक अभियान’ ल्याएका छन् ।
त्यस्तै, आफ्नो क्षेत्रका किसानलाई बीउ, मल र मूल्य समयमा सुनिश्चित गर्न र ऋणको बोझमा थिचिनुपर्ने व्यथाको अन्त्यका लागि ‘कृषि उत्थान, किसान गौरव अभियान’ अघि सारेका छन् ।
बाढी र डुबानको जोखिम कम गर्न, बागमती र मनुस्मरा नदीको कटानलाई रोकी नागरिकको जीवन सुरक्षित गर्नको लागि ‘प्राकृतिक स्रोत र विपद् व्यवस्थापन–संरक्षण अभियान’ समेटेका छन् । उनको पाँचौ अभियान रोजागरीसँग सम्बन्धित छ । जसमा ‘मिसन रोजगारी अभियान’ नाम दिएर रोजगारी, अवसर र सीपको अभावले विदेश जानपर्ने बाध्यतालाई कम गर्न, सीप र बजारबीचको खाडल, पुँजीको अभाव अन्त्य गर्दै युवालाई उद्यमी र स्वरोजगार बनाउन काम गर्ने प्रतिज्ञा गरेका छन् ।
भारतीय सीमासँग जोडिएको करिब ३० किलोमिटर भूभाग सर्लाही–४ का नागरिकको सुरक्षा र सम्मानका लागि ‘दशगजा उज्यालो अभियान’ अघि सारेका छन्।
त्यस्तै, महिला सशक्तिकरणका लागि ‘महिला तथा बालबालिका, मेरो आवाज, मेरो अधिकार अभियान’ चलाउने बताएका छन् । यसैगरी, मुसहर, चमार, डोम, पासवान, खत्वे लगायतका दलित समुदायमा भएको असमानताको अन्त्य गरी दलित समुदायको उत्थानका लागि थापाले ‘ दलित अधिकार, समता र न्याय अभियान’को अवधारणा अघि सारेका छन् । उनको नवौँ अभियानमा मिथिला संस्कृतिसँग सम्बन्धित छ । संस्कृति संरक्षणका लागि ‘मेरो संस्कृति मेरो पहिचान अभियान’ चलाउने प्रतिज्ञा गरेका छन् ।



