सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न मंगलबार आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले यो आदेश जारी गरेका हुन ।
निर्वाचन भाँड्ने आशंकासहित सरकारले प्रसाईंलाई फागुन ४ गते मध्यराति भक्तपुरको थिमीस्थित निवासमा प्रहरी पठाएर समात्न लगाएको थियो ।
त्यसयता उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । प्रसाईंलाई एक महिनायता सरकारले पटक पटक धरपकड गरिरहेको छ।
यसअघि माघ २३ गते पनि उनलाई पक्राउ गरिएको थियो। त्यसबेला उनी सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए ।
प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि निर्वाचन भाँड्ने आशंका सरकारको थियो । त्यहीकारण पर्सा जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले बल्खुबाट त्यसबेला समातेको थियो ।
निर्वाचनबारे विवादित कुरा बोलेपछि उनलाई त्यसबेला निर्वाचन आयोगको पत्रका आधारमा साइबर ब्यूरोले पक्राउ गरेको थियो ।



