जनकपुरधामस्थित एक निजी बैंकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक निर्वाचनको विषयमा विवाद भएपछि हातपातमा उत्रिएका छन् ।
जनकपुरधामको भानु चोकस्थित एनएमबी बैंकमा रकम लिन आएका बेला दुई सेवाग्राहीबीच प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा कुराकानीको क्रममा रास्वपाका समर्थकले आफ्नो उम्मेदवार जित्ने दाबी गरेपछि एमालेका समर्थकले समेत आफ्नो उम्मेदवार जित्ने ठोकुवा गर्न थालेपछि दुवैबीच विवाद उत्पन्न भएको थियो ।
सो विवादले उग्र रुप लिएपछि दुबै जनाबीचमा हातपात हुँदा तनाव उत्पन्न भएको थियो । त्यसपछि बैंकले तत्काल प्रहरीलाई बोलाएर उनीहरुलाई नियन्त्रणमा लिएपछि अवस्था साम्य भएको थियो । बैंकभित्रै सौहार्दपूर्ण रुपमा दुबै जनाबीच कुराकानी भइरहँदा उत्पन्न विवादका कारण करिब आधा घन्टा जति कामकाज नै प्रभावित भएको थियो । दुबै जनालाई बैंकबाट प्रहरीले निकालेर हातपातबारे गरेको प्रारम्भिक अनुसन्धानबाट निर्वाचनमा आ–आफ्नो उम्मेदवार जित्ने दाबी गर्न थालेपछि हातपातसम्मका घटना भएको जनाइएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको केही घन्टाभित्रै विवाद नगर्ने सर्तमा छाडिएको एकजनाले बताए ।



