जनता समाजवादी पार्टी( जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालबीचको तालमेल चर्मराएको छ । लोसपा नेपालसित तालमेल गरी जसपामा समाहित भएको सन्देश फैलिएको बेला तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले चुनावमा कुनै दललाई समर्थन नगर्ने निर्णय गरेको छ ।
तमलोपाको निर्णयले जसपाबाट उम्मेदवारी दिएका कयौँ नेताहरुलाई अप्ठ्यारो भएको बताइन्छ । केही निर्वाचन क्षेत्रमा तमलोपाका नेताहरुको राम्रो प्रभाव रहेको छ । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३, महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा तमलोपाको मत निर्णायक हुन सक्ने देखिन्छ ।
तमलोपाका अध्यक्ष वृशेषचन्द्र लाल र वरिष्ठ नेता डा.विजय कुमार सिंहको धनुषा र महोत्तरी जिल्लामा राम्रो प्रभुत्व रहेको छ । मतदान हुन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहेको बेला तमलोपाको निर्णयलाई जसपा नेपालका नेताहरुले आश्चर्यजनक मानेको छ । जसपा नेपालको कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले अनभिज्ञता प्रकट गर्दै भने, ‘उहाँहरु पनि जसपा नेपालको कार्यकारिणी समिति सदस्य रहेकाले त्यसो गर्नु हुन्न होला ।’
तमलोपा सम्बद्ध एकजना नेताका अनुसार जसपा नेपालबाट उम्मेदवार बनेकाहरुले पूर्णतः उपेक्षा गरेको कारण गणतन्त्र र संघीयताको पक्षमा मतदान गर्ने निर्णय लिएको छ । डा.सिंहले प्रारम्भदेखि नै यो चुनावको औचित्य नरहेको धारणा राख्दै आएको बताएका छन् । ‘औचित्यहीन चुनावमा सहभागी हुनुको अर्थ छैन’ डा.सिंहले भने, चुनावमा कुनै दलको बहुमत आउने संकेत समेत देखिएको छैन ।
डा.सिंह र लाल दलबल सहित नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा जोडतोडले चलेको थियो । तर उनीहरुले त्यसमा बिराम लगाउँदै आ–आफनो ढंगले मतदान गर्ने निर्णय नै सार्वजनिक गरिसकेका छन् । तमलोपाबाट जसपा नेपालमा केन्द्रीय सदस्य रहेका उमेश मण्डलले अस्तित्वको संकट भएकाले सबैलाई आ–आफ्नो स्वेच्छाले मतदान गर्न सहमति भएको बताए ।
तर तमलोपाका संस्थापक नेताहरुको निर्णयले जसपा नेपालका उम्मेदवार हरुलाई मतदान नगर्ने निश्चित भएको छ । तमलोपाको निर्णयले धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपा नेपालका उम्मेदवार परमेश्वर साहलाई क्षति हुने बताइन्छ । साहले चुनावको क्रममा डा.सिंह र लाललाई उपेक्षा गरेको आरोप छ ।
जसपा नेपालका अन्य कार्यकारिणी समिति सदस्यहरुलाई समेत साहले महत्व नदिइ पुरानो लोसपाकै हालीमुहाली चलाएको बताइन्छ । साह र उनका निकटहरुले जसपा नेपालका कयौं नेताहरुलाई निषेध गरेकाले उनीहरु असन्तुष्ट भएको बताइन्छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा जसपा नेपालकी उम्मेदवार डा.मिनाक्षी ठाकुरलाई तमलोपाको निर्णयले प्रभावित गर्ने भएको छ । जसपा नेपालका अधिकांश नेताहरु विद्रोही उम्मेदवार हरिनारायण यादवको पक्षमा खुलिसकेका छन ।
सो क्षेत्रमा डा.सिंह र लालको राम्रो पकड रहेको छ । कांग्रेसमा रहेको बखतदेखि नै दुई जना नेताको प्रभाव महोत्तरी जिल्लामा रहँदै आएको छ । उनीहरुले ठाकुरको पक्षमा मतदान नगर्ने भएपछि यादवको स्थितिमा सुधार आउने बताइन्छ । महन्थ ठाकुर राष्ट्रिय सभामा निर्वाचित हुने निश्चित भएसंगै छोरी डा. ठाकुरलाई उम्मेदवार बनाएका थिए ।
यस अघि दुई कार्यकाल ठाकुरले नै महोत्तरी–३ बाट निर्वाचित भएका थिए । तर छोरीका लागि सकस छ । पुराना लोसपा नेपालका नेताहरु मन्त्री रानी शर्मा लगायत सकृय रुपमा जुटेकी छन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पनि तमलोपाका नेताहरुले प्रभावले जसपा नेपालका उम्मेदवार शरतसिंह भण्डारीलाई क्षति गर्ने बताइन्छ ।
उक्त क्षेत्रमा डा.सिंहको घर समेत भएको र क्षेत्रभर नै बलियो प्रभाव रहको छ । तमलोपाले स्वेच्छाले मतदान गर्ने खुल्ला वातावरण बनाए पनि डा.सिंह र लालको चाहना अनुरुप नै अधिकांश समर्थकहरुले मतदान गर्ने देखिन्छ । स्रोतहरुका अनुसार तमलोपाका अधिकांश समर्थक र नेताहरुले आ–आफ्नो क्षेत्रमा कांग्रेसका जित्ने उम्मेदवारलाई मतदान गर्ने छन् ।
तमलोपाको निर्णयले प्रत्यक्ष रुपमा धनुषा– ३ मा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधि, महोत्तरी– २ मा कांग्रेसकी उम्मेदवार किरण यादव र क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार बजरंग नेपालीलाई फाइदा पुग्ने देखिन्छ । तमलोपाको निर्णयले जसपा नेपाल र लोसपा नेपालको तालमेल समेत प्रभावित भएको छ । यस पटकको चुनावमा कयौँ चर्चित नेताहरु ओझेलमा परेका छन् । त्यसको असर धनुषा र महोत्तरीमा देखिन थालिएको छ । एमालेप्रति मतदाताहरुको आक्रोश झन् बढेको बताइन्छ ।
कांग्रेसको चुनावी स्थितिमा सुधार भएको दाबी गरिएको छ ।



