यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षा तयारी र देशका विभिन्न भागमा देखिएको दुई समुदायबीचको झडपसहितको घटनाबारे सूक्ष्म विश्लेषण गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ ।
मधेश प्रदेशका रौतहटको गौर र पर्साको वीरगञ्ज लगायतका स्थानमा पछिल्ला दिनमा भएका झगडा तथा झडपका घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ । रौतहटमा दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएको थियो भने पर्साको वीरगञ्जमा समेत सोही झडपका कारण ढुङ्गामुढा तथा प्रदर्शन हुँदा स्थिति तनावपूर्ण बनेपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ ।
गौर र वीरगञ्जसहितको स्थानमा दुई समुदायबीचको उत्पन्न तनावले निर्वाचनको वातावरण बिथोल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिमा फेरबदल गर्ने विषयमा छलफल केन्द्रित भएको छ । उक्त बैठकबाट साम्प्रदायिक र राजनीतिक झडप भएका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरेको छ ।
स्थानीय स्तरमा हुने विवादलाई तत्काल नियन्त्रणमा लिन र निर्वाचन बिथोल्ने तत्वलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइने बुझिएको छ । उक्त बैठकमा विशेषगरी सीमावर्ती र झडप भएका जिल्लामा सुरक्षा फौजको उपस्थिति बढाउने तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचनामाथि कडा निगरानी राख्ने विषयमा पनि छलफल भएको थियो ।



