विश्वकै हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिर फेरि विवादमा मुछिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा रहेका उम्मेदवारहरुका लागि जानकी मन्दिरको पूजा अर्चनाको नाममा उम्मेदवार तथा नेताहरुले आफ्नो अनुकूल मन्दिरका महन्तसहितको व्यवस्थापन समितिलाई प्रयोग गरेपछि मन्दिर विवादमा मुछिएको छ ।
सदियौंदेखि स्थापित परम्परा, निश्चित समयतालिका र धार्मिक मर्यादाभित्र दर्शन गर्ने परम्परा रहँदै आएको जानकी मन्दिरको गरिमा खस्किँदा श्रद्धालु भक्तजनहरुले समेत विरोध गर्न थालेका छन् । मन्दिरको धार्मिक महत्व र आस्थाको केन्द्रलाई बेवास्ता गरी आफ्नो स्वार्थ सिद्ध गर्नका लागि राजनीतिक र सत्तामा पहुँच बनाउने आधारको रुपमा मन्दिरको दुरुपयोग गरेपछि अहिले सो कार्यको व्यापक विरोध भएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उत्तराधिकारी महन्त रामरोशन दाससहित व्यवस्थापन समितिले निहित स्वार्थका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने बुधबार एकाविहानै मन्दिरको मूल ढोका खोली दर्शन गराइ पूजा अर्चना गरेका थिए । सदियौँदेखिको परम्परा अनुसार बिहानै ४ बजेदेखि पुजारीले भगवानलाई उठाई स्नान, शृंगार र पूजाको तयारी गरी ठीक ७ बजे दर्शनका लागि गर्भगृहको पट खोल्ने, दिउँसो १२ बजे प्रसाद भोगपछि विश्रामका लागि पट बन्द गर्ने, पुनः ३ बजे खोल्ने र राति १० बजे बन्द गर्ने स्पष्ट व्यवस्था रहँदै आएको छ ।
तर मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले यही स्थापित परम्परालाई राजनीतिक शक्ति र पहुँच बनाउनका लागि बुधबार विहान ४ बजे नै मन्दिरको मूल ढोकाले खोलेर सभापति लामिछानेलाई पूजा अर्चना गराएका थिए । गत माघ ५ गते बालेन्द्र साह (बालेन) जनकपुरधाम आउँदा भगवानको पूर्ण शृंगार नगरी निर्धारित समयअघि नै गर्भगृह पट खोलेर दर्शन तथा पूजापाठ गराएका थिए ।
परम्परा विपरित गर्भगृहको पट खोलिनु केवल नियम उल्लंघन नभइ धार्मिक आस्थामाथिको ठाडो प्रहार हो । त्यस घटनाले चर्को आलोचना खेप्नुपरेको नपाउँदै, एक महिनापछि सोही पार्टीका सभापति रवि लामिछानेका लागि दिउँसो मन्दिरका गर्भगृहको पट बन्द नगरी खुल्ला नै राख्यो । भगवानको प्रसाद भोग पश्चात दिउँसो १२ बजेपछि पनि गर्भगृह पट खुला राखि सभापति लामिछानेलाई दर्शन तथा पूजापाठ मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास स्वयं आफ् नो कक्षबाट आइ गराएको छ ।
उनको यो क्रियाकलापले चर्को आलोचना भइरहेको छ । परम्परा अनुसार भगवानलाई भोग लगाएर विश्राम गराउने समयसमेत नेताको सुविधा अनुसार फेरिनु कदापि गलत कार्य रहेको स्थानीयको भनाइ छ । स्थानीयवासी भन्छन् भगवान दरबार मन्दिरमा मन्दिरमा सबै एक बराबर हुन कोही भीआइपी र कोही तल्लो तप्का होइन ।
तर जानकी मन्दिरमा पावर र पद हेरेर व्यवहार गरिनु निकै चिन्ताको विषय हो । यी आरोप बारे मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जिकिर गर्दै भने, ‘जानकी मन्दिरमा पद र पावरको हिसाबले नभइ सबैलाई एक समान व्यवहार गर्ने गरिन्छ । कसैले आरोप लगाउँछ भने त्यो निराधार हो ।
रास्वपाका नेताका लागि मन्दिरको परम्परा तोडिएको बारे मन्दिरको परम्परा तोडिएको छैन । बिहान साढे ४ देखि साढे ५ बजेसम्म गर्भगृहको पट बन्द भगवानको शृंगार र त्यसपछि गर्भगृहको पट खोलेर आरती शुरु भएपछि बालेन साह पट बन्द भएको बेला आएको रामरोशन दासले जिकिर गरे ।
बुधबार रास्वपा सभापति लामिछाने आएको बेला पनि मन्दिरको गर्भगृहको पट खुल्ला रािखएकोमा आरोप बारे उनले भने दिउँसो १२ बजे नभइ साढे १२ बजेसम्म बन्द हुन्छ र उनी साढे १२ बजे अघि नै मन्दिर प्रवेश गरिसकेका थिए । उनका लागि कुनै परम्परा नतोडिएको दाबी उनले गरे । मन्दिरमा भगवानको पूजापाठ देखि सबै व्यवस्थापन मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवज्यू आफै गर्दै आइरहेका छन् ।
रामरोशन दासले भने, ‘मन्दिरको गर्भगृह पट कति बेला खोल्ने बन्द गर्ने सबै उहाँकै निर्देशनमा हुँदै आएको र एक वर्षदेखि उहाँ स्वयं पूजापाठदेखि आरतीसम्म गरिरहनु भएकाले यदि परम्परा तोडिएको छ भन्ने त्यसको जिम्मेवारी उहाँमा नै जान्छ ।’ जनकपुरधामका ऐतिहासिक धरोहरहरू क्रमशः समाप्त हुँदै गएका सन्दर्भमा, बाँकी रहेको प्रमुख पहिचानमाथि यस्तो हस्तक्षेप हुनु अत्यन्तै चिन्ताजनक हो ।
त्यस्तै केही महिना अघि पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गर्न आउँदा मन्दिरका महन्त दासले मन्दिरको चार वटै मूल ढोकामा उनको स्वागतमा तूल व्यानर लगाएर राजावादीहरुको जयजयकार नै गरेका थिए । जुन अहिले पनि मूल ढोकाहरुमा यथावत नै रहेको छ । यसप्रति स्थानीय प्रशासनसमेतको मौनतामाथि प्रश्न उठेको स्थानीयवासीहरु बताउन थालेका छन् ।


