२०८२ फाल्गुन १४, बिहीबार ०७:५१

आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा धनुषाका चारवटै निर्वाचन क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा स्पष्ट रुपमा देखिएको छ । घरदेखि खेतसम्म, चिया पसलदेखि चौतार ोसम्म जनताबाट सुनिएको आवाजको विश्लेषण पनि यहि भावको देखिन्छ । प्रारम्भिक अनुमान अनुसार केही क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा छ ।

धनुषा क्षेत्र नं. १ को प्रतिस्पर्धा

धनुषा क्षेत्र नं. १ मा स्वतन्त्र तथा विभिन्न दलका गरी कुल ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये मुख्यतः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट रामपल्टन साह उम्मेदवार छन् ।

यसअघि पटक–पटक उम्मेदवार भइसकेका आनन्द ढुगानालाई प्रतिस्थापन गर्दै पार्टीले रामपल्टनलाई अघि सारेको हो । उम्मेदवार परिवर्तनसँगै विगतमा असन्तुष्ट रहेका मतदाताहरू पुनः एकत्रित भएको विश्लेषण गरिएको छ, जसका कारण रामपल्टन बलियो दाबेदारका रूपमा देखिएका छन् । एमालेबाट उम्मेदवार बनेका रामचन्द्र मण्डल यसअघि मधेश प्रदेशका सभामुख रहिसकेका छन् ।

प्रदेश स्तरमा उनको छवि मिश्रित रहे पनि ग्रामीण क्षेत्रमा उनको प्रभाव उल्लेख्य मानिन्छ, जसले उनलाई प्रतिस्पर्धी बनाएको छ । नेकपाका उम्मेदवार मातृका यादव उक्त क्षेत्रमा प्रभावशाली नेताका रूपमा परिचित छन् । अघिल्लो निर्वाचनमा पराजित भए पनि यसपटक पुनः बलियो दाबेदारका रूपमा प्रस्तुत भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट किशोरी साह उम्मेदवार छन् । यसअघि प्रदेश सांसद रहिसकेका साह यसपटक पनि सशक्त प्रतिस्पर्धीका रूपमा उभिएका छन् । जनता समाजवादी पार्टी नेपालबाट दीपक कार्की प्रतिस्पर्धामा छन्। पहाडी समुदायमा राम्रो पकड बनाएका कार्की यसअघि सोही क्षेत्रबाट संघीय सांसदसमेत भइसकेका छन्, जसका कारण उनलाई पनि बलियो दाबेदार मानिएको छ ।

धनुषा क्षेत्र नं. १ मा कुल १,२६,०४० मतदाता रहेका छन् । जसमा पुरुष मतदाताः ६६,३१०,महिला मतदाताः ५९,७२८ रहेको उक्त क्षेत्रमा ८५ मतदानस्थल र १६३ मतदान केन्द्र रहेका छन् । १३ राजनीतिक दल र २९ स्वतन्त्र उम्मेदवार गरी ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये ३५ जना पुरुष उम्मेदवार छन् ।

समुदायगत आधारमा उम्मेदवारको संरचना अनुसार मुस्लिमः २.३८ प्रतिशत,आदिवासी जनजातिः ९.५२ प्रतिशत,खस आर्यः ४.७६ प्रतिशत रहेको छ । समग्रमा हेर्दा धनुषा क्षेत्र नं. १ मा बहुपक्षीय प्रतिस्पर्धासँगै परिवर्तनको चाहना प्रमुख मुद्दाका रूपमा उदाएको देखिन्छ ।

धनुषा क्षेत्र नं. २

धनुषा क्षेत्र नं. २ मा पनि जनआवाजको लहर हेर्दा मतदाताले परिवर्तनलाई नै प्राथमिकता दिएको संकेत देखिन्छ । घरदैलो अभियान र सार्वजनिक छलफलहरूबाट प्राप्त प्रतिक्रियाअनुसार यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेसबाट दिनेश प्रसाद परसैला प्रतिस्पर्धामा छन् । परसैला पार्टीका दिग्गज नेताका रूपमा चिनिन्छन् । यस क्षेत्रलाई कांग्रेसको परम्परागत ‘किल्ला’ मानिन्छ, जहाँ अघिल्लो पटक रामकृष्ण यादव विजयी भएका थिए । यसपटक कांग्रेस सभापति गगन थापाले रामकृष्ण यादवलाई प्रतिस्थापन गर्दै परसैलालाई उम्मेदवार बनाएका हुन् ।

लामो समयसम्म जनतासँग प्रत्यक्ष सम्पर्क कमजोर रहेको आरोप लागे पनि संगठन बलियो भएकाले परसैलालाई कमजोर उम्मेदवारका रूपमा मात्र आँकलन गर्न सकिँदैन । एमालेबाट उमाशंकर अरगरिया पुनः बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन् । अघिल्लो निर्वाचनमा रामकृष्ण यादवसँग झिनो मतान्तरले पराजित भएका अरगरियाले त्यसयता आफ्नो क्षेत्रमा सक्रियता बढाएका छन् ।

पराजयपछि पनि जनसम्पर्कलाई निरन्तरता दिएको कारण उनी यसपटक सशक्त दाबेदार मानिएका छन् । नेपाली राजनीतिमा स्थापित नेताका रूपमा चिनिएका रामचन्द्र झा यसपटक नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार छन्। पूर्व मन्त्रीसमेत रहेका झा यस क्षेत्रका ्रभावशाली नेतामध्ये एक हुन् र प्रतिस्पर्धामा उनको उपस्थिति महत्वपूर्ण मानिएको छ।

त्यस्तै, ‘बालेन लहर’सँगै उदाएका रामविनोद यादव राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा मैदानमा छन् । क्षेत्रबाहिरका बासिन्दा र संजय टकलाको नजिकका सहयोगीका रूपमा चिनिने यादवले क्षेत्रमा उल्लेखनीय काम नगरेको आरोप भए पनि उनी बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । जनमतको प्रवृत्तिअनुसार उनले स्थापित नेताहरूलाई कडा चुनौती दिने संकेत देखिएको छ ।

समग्र विश्लेषण गर्दा धनुषा क्षेत्र नं. २ मा एमाले, रास्वपा र नेकपाबीच मुख्य ्रतिस्पर्धा हुने सम्भावना बलियो देखिन्छ, जबकि कांग्रेस पनि संगठनको आधारमा प्रभावशाली रूपमा उपस्थित छ । धनुषा क्षेत्र नं. २ मा कुल १,३४,८२६ मतदाता रहेका छन् । जसमा पुरुषः ७२,६१७,महिलाः ६२,२०७ मतदाता रहेको छ । उक्त क्षेत्रमा ८८ मतदानस्थल र १७४ मतदान केन्द्र रहेका छन् ।

१० राजनीतिक दल र २४ स्वतन्त्र उम्मेदवार गरी कुल ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । समुदायगत संरचना अनुसारःमधेशीः ९१.१८ प्रतिशत र दलितः ८.८ प्रतिशत रहेको छ ।समग्रमा हेर्दा धनुषा क्षेत्र नं. २ मा परिवर्तनको चाहना,संगठनको प्रभाव र नयाँ शक्तिको उभारबीच रोचक तथा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

धनुषा क्षेत्र नं ३

मधेश प्रदेशको राजधानी जनकपुरधाम समेटिएको धनुषा क्षेत्र नं. ३ राजनीतिक दृष्टिले अत्यन्तै महत्वको क्षेत्र मानिन्छ । यहाँ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस क्षेत्रमा १६ राजनीतिक दल र २९ स्वतन्त्र उम्मेदवार गरी कुल ४५ जना प्रतिस्पर्धामा छन ्। मुख्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, रास्वपाबाट मनिष झा, एमालेबाट जुली महतो, जनता समाजवादी पार्टी नेपालबाट परमेश्वर साह र नेपाल कम्युनिष्ट पार्टीबाट रामललित मण्डल रहेका छन् ।

प्रमुख उम्मेदवारहरूको अवस्था

यसअघि समानुपातिक सांसद र पूर्व गृहमन्त्रीसमेत रहेका विमलेन्द्र निधि विकासप्रेमी नेताका रूपमा परिचित छन् । संगठन मजबुत र पार्टीगत गुटबन्दी अन्त्य भए उनी सशक्त उम्मेदवार बन्न सक्ने विश्लेषण छ ।

रास्वपाका प्रवक्ता तथा पूर्व समानुपातिक सांसद मनिष झा ‘बालेन लहर’सँगै मधेशमा उदाएका युवा नेतामध्ये एक मानिन्छन् । उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रिय मुक्ति पार्टीका डा. राजीव झाले समर्थन गरेपछि उनी थप मजबूत भएका छन् । विश्लेषकहरूले उनको केही मत बढेको भन्छन् । पछिल्लो कार्यकालमा सांसद रहेकी जुली महतो शालीन स्वभाव र जनतासँग घुलमिल ह ु न सक्ने क्षमताका कारण परिचित छन् ।

यद्यपि कार्यकालमा उल्लेखनीय उपलब्धि देखाउन नसकेको आलोचना छ । तथापि ‘साहुजी फ्याक्टर’ले काम गरे उनी महत्वपूर्ण दावेदार बन्न सक्ने आकलन गरिएको छ । पूर्व प्रदेश सांसद परमेश्वर साह, जसपा–लोसपा एकीकरणपछि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका हुन् । ‘जय मधेश’को लहर केही मत्थर देखिए पनि साह थरका उल्लेख्य मतदाता रहेका कारण ‘साहुजी फ्याक्टर’ले उनलाई पनि प्रतिस्पर्धामा उभ्याउन सक्ने अनुमान छ ।

नेकपाका उम्मेदवार रामललित मण्डल अन्य उम्मेदवारभन्दा केही कमजोर देखिए पनि प्रतिस्पर्धाबाट बाहिर भने छैनन्। माओवादी धारको संगठन यहाँ अझै मजबुत मानिन्छ । समग्रमा हेर्दा धनुषा क्षेत्र नं. ३ मा त्रिपक्षीय भिडन्त लगभग निश्चितजस्तै देखिन्छ । परिवर्तनको चाहना, स्थापित नेताको प्रभाव, संगठनको बल र नयाँ शक्तिको उभार—यी सबै तत्वले यस क्षेत्रलाई अत्यन्तै चासोको केन्द्र बनाएको छ । यस क्षेत्रमा १,२५,९२७ कुल मतदाता रहेकोमा पुरुषः ६८,६१८ र महिलाः ५७,३०५ मतदाता रहेको छ । ७४ मतदानस्थल रहेको यस क्षेत्रमा १ ५५ मतदान केन्द्र रहेको छ । यस आधारमा धनुषा ३ मा परिणाम निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने संकेत देखिएको छ ।

धनुषा क्षेत्र नं. ४

धनुषा क्षेत्र नं. ४ मा १३ राजनीतिक दल र २४ स्वतन्त्र गरी कुल ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ मुख्यतः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री महेन्द्र यादव अघिल्लो निर्वाचनमा एमालेका रघुवीर महासेठसँग झिनो मतान्तरले पराजित भएका थिए । यसपटक बदला लिने रणनीतिसहित मैदानमा उत्रिएका छन् । कांग्रेसको मजबुत संगठन र यादवको व्यक्तिगत प्रभावका कारण उनी बलियो प्रतिस्पर्धी मानिएका छन् ।

पटक–पटक निर्वाचित हुँदै आएका एमालेका रघुविर महासेठ यस क्षेत्रका स्थापित नेता हुन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेता महेश बस्नेतको मधेशप्रतिको अभिव्यक्तिले केही मतदातामा असन्तुष्टि देखिएको विश्लेषण छ । यद्यपि एमालेको संगठन मजबुत रहेकाले कांग्रेससँग उनको सीधा टक्कर हुने देखिन्छ । ‘बालेन लहर’ को प्रभाव यस क्षेत्रमा पनि देखिएको छ ।

रास्वपाका राजकिशोर महतो व्यक्तिगत रूपमा त्यति स्थापित नेता नभए पनि नयाँ शक्तिप्रतिको आकर्षणका कारण प्रमुख प्रतिस्पर्धी मध्ये परेका छन् । कांग्रेस–एमालेको परम्परागत भिडन्तबाट लाभ उठाउने रणनीतिमा रहेका महतो रहेका छन् । जसपा नेपालबाट उम्मेदवार बनेका कृष्ण चन्द्र प्रसाद साह पनि प्रतिस्पर्धामा छन् ।

पेशाले इन्जिनियर रहेका साह यसभन्दा पहिले पोखराबाट उम्मेदवारी दिएर चर्चित बनेका थिए । धनुषाका ठुलै समाजसेवी रामस्वरुप साह र रामसागर साहका पौत्रका रुपमा रहेको साह महत्वपूर्ण प्रतिस्पर्धीको रुपमा देखिएको छ । मधेश केन्द्रित मुद्दा र जातीय समीकरणले काम गरे उनी निर्णायक भूमिका खेल्न सक्ने आकलन छ ।

समग्रमा हेर्दा धनुषा क्षेत्र नं. ४ मा कांग्रेस र एमालेबीच सीधा प्रतिस्पर्धा हुने देखिन्छ । तर बालेनको चर्चाले समीकरण बदलिन सक्ने भएकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । १,२७,७७८ कुल मतदाता रहेको यस क्षेत्रमा पुरुष मतदाताको संख्या ६८,५८१ र महिला मतदाताको संख्या ५९,१९५ रहेको छ । यस क्षेत्रमा ७५ मतदानस्थल र १५३ मतदान केन्द्र रहेको छ । यस आधारमा धनुषा क्षेत्र नं. ४ मा पनि परिणाम अत्यन्तै प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने देखिएको छ ।

Comment


Related News