आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमै धनुषाको कमला नगरपालिकामा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयको नियमित कामकाज छाडेर निर्वाचन गतिविधिमा केन्द्रित भएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् । नगरपालिकाले कुनै औपचारिक सूचना जारी नगरी कामकाज ठप्प पारेपछि दैनिक प्रशासनिक सेवा लिन आउने स्थानीय निराश हुँदै फर्किन बाध्य भएका छन् ।
विभिन्न वडा र गाउँबाट अत्यावश्यक कागजी प्रक्रिया, सिफारिस तथा अन्य सेवा लिन आउने नागरिकले कार्यालयमा कर्मचारी नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सञ्चालनका लागि कर्मचारीहरू निर्वाचनमा खटाइएकाले यस्तो अवस्था सिर्जना भएको कमला नगरपालिका–३ का वडाध्यक्ष रामभगत यादवले बताए ।
उनका अनुसार निर्वाचन जिम्मेवारीका कारण कार्यालयको नियमित सेवा प्रभावित भएको हो । यस्तै, नगरभित्र जनप्रतिनिधिहरूबीचको विवादका कारण चालु आर्थिक वर्षको नगरसभा बस्न नसकेको र बजेटसमेत पारित हुन सकेको छैन । बजेट अभावकै कारण विगत आठ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब रोकिएको छ भने ज्येष्ठ नागरिकलगायत लक्षित वर्गले पाउने सामाजिक सुरक्षा भत्ता वितरणसमेत ठप्प भएको छ ।
स्थानीयले निर्वाचनको व्यस्तताबीच पनि आधारभूत सेवा निरन्तरता दिन नगरपालिका जिम्मेवार बन्नुपर्ने माग गरेका छन् ।सेवा प्रवाह अवरुद्ध हुँदा दैनिक प्रशासनिक कामकाजदेखि सामाजिक सुरक्षासम्बन्धी सुविधासमेत प्रभावित भएको भन्दै तत्काल समाधान खोज्न चौतर्फी दबाव परिरहेको छ ।


