२०८२ फाल्गुन १४, बिहीबार ०८:०४

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस नै यस्तो राजनीतिक शक्ति हो जसले देशमा जब जब संकट प¥यो कांग्रेस नै समाधान गर्दै आएको बताएका छन ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान चुनौतीपूर्ण परि स्थितिमा कांग्रेसले नै मुलुकलाई निकास दिन सक्ने दाबी गरे । उनले युवापुस्तामा देखिएको असन्तुष्टि र उठिरहेका प्रश्नहरूलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै ‘जेन– जी’ समूहका युवाहरूले उठाएका सुशासन, पारदर्शिता, रोजगारी तथा अवसरसम्बन्धी मागहरू जायज रहेको र त्यसको समाधान गर्न सक्ने क्षमता पनि कांग्रेसमै रहेको बताए ।

उपसभापति शर्माले पार्टीभित्र अहिले युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व देखिनु सकारात्मक संकेत भएको उल्लेख गरे । कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने उनले बताए । उनले निर्वाचनका क्रममा उम्मेदवारहरूले जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन भए–नभएको विषयमा पार्टीको केन्द्रीय कार्यालयबाटै अनुगमन गरिने स्पष्ट समेत पारे ।

“जनतासँग गरिएको प्रतिबद्धता कागजमा सीमित रहनु हुँदैन, त्यसको कार्यान्वयनको जिम्मेवारी पार्टीले लिन्छ,” उहाँले भन्नुभयो, “उम्मेदवारको कार्यसम्पादनको मूल्यांकन गरी आवश्यक परे कारबाहीसमेत गरिनेछ ।” देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने उहाँले उल्लेख गरे ।

चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै विकासको नयाँ चरणमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई लोकतान्त्रिक शक्तिको पक्षमा उभिन आह्वान गरे । ऐतिहासिक परिवर्तनका प्रत्येक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउँदै उनले राणाशासनको अन्त्य, राजसंस्थाको अवसान तथा शान्ति प्रक्रियामार्फत देशलाई द्वन्द्वबाट मुक्त गराउने अभियानमा कांग्रेस अग्रपंक्तिमा रहेको बताए ।

कार्यक्रमअघि उपसभापति शर्माले जलेश्वरस्थित सहिद पार्कमा पुगेर सहिदहरूको स्मारकमा माल्यार्पण गर्नुभएको थियो । सहिदहरूको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रक्षा र सुदृढीकरण सबैको साझा दायित्व भएको बताए ।

Comment


Related News

Latest News

Trending News