२०८२ फाल्गुन १५, शुक्रबार ०६:५३

प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले आचारसंहिता विपरीत टाँसिएका तथा झुण्ड्याइएका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिएको जनाएको छ ।

चारवटै निर्वाचन क्षेत्रबाट ती सामग्री हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेश ले बिहीबार आयोजना गरेको पत्रकार अन्तरक्रियामा अनुगमन समितिले आचारसंहिता कार्यान्वयन, सुरक्षा तयारी र निर्वाचन व्यवस्थापनबारे जानकारी दिएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार आचारसंहितासम्बन्धी ३१ वटा उजुरी प्राप्त भएका छन्, जसमध्ये ६ वटा लिखित र २५ वटा मौखिक छन्। तीमध्ये २६ उजुरी फछ्र्योट भइसकेका छन् भने बाँकी विषय थप निर्णयका लागि निर्वाचन आयोग को केन्द्रीय कार्यालय पठाइएको छ ।

निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल–भारत सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको प्रशासनले जनाएको छ । फागुन १८ देखि २१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरिएको छ। आवतजावतमा निगरानी बढाइनुका साथै विभिन्न स्थानमा अस्थायी चेकपोस्ट स्थापना गरी जाँच प्रक्रिया तीव्र पारिएको छ । जिल्लामा नेपाल–भारत सीमासँग जोडिएका १९४ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। त्यस्तै १०६ केन्द्र संवेदनशील र २२ केन्द्र सामान्य श्रेणीमा छन्।

एउटा अस्थायी मतदान स्थल पनि कायम गरिएको छ । संवेदनशील तथा अति संवेदनशील केन्द्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिने र आवश्यक परे तत्काल सुरक्षा टोली खटिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचनका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा मतपत्रसहितका सामग्री नेपाली सेनामार्फत पठाइसकिएको उनले जानकारी दिए ।

जिल्लामा ५ लाख १४ हजार ५७१ मतदाता रहेका छन्। ३२२ मतदान स्थलअन्तर्गत ६४५ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सञ्चालनका लागि ३ हजार ५७८ कर्मचारी परिचालन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैह्रेका अनुसार अनुगमन संयन्त्र सक्रिय रूपमा परिचालन गरिएको छ र निर्वाचन अवधिभर निगरानी जारी रहनेछ ।

झुण्ड्याइएका प्रचार सामग्री नियन्त्रणमा लिइए पनि भित्ते लेखन र पोस्टर टाँस्ने कार्यमा जरिवाना गर्ने विषयलाई व्यवहारिक रूपमा लचिलो बनाइएको उनले बताए। “पूर्ण रूपमा कडाइ गर्दा निर्वाचनको माहोल नै प्रभावित हुन सक्छ,” उनले भने । पत्रकारहरूले सीमाक्षेत्रको सुरक्षा, मतदाता व्यवस्थापन, आचारसंहिता कार्यान्वयन र सम्भावित चुनौतीबारे जिज्ञासा राखेका थिए ।

सम्बन्धित अधिकारीहरूले निष्पक्ष, सुरक्षित र व्यवस्थित निर्वाचन सम्पन्न गर्न सबै निकायबीच समन्वय सुदृढ गरिएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News