मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा हरेक वर्ष झैं यस वर्षपनि दुई दिवसीय ‘होरी महोत्सव’ र ‘महामूर्ख सम्मेलन’ आयोजना गर्ने भएको छ ।
परिषद्ले फागुन १६ गते शनिबार होरी महोत्सव र फागुन १७ गते आइतबार महामूर्ख सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ । मिनापका अध्यक्ष सुनिल मलिल्कले होरी महोत्सवमा सहभागी हुन इच्छुक होरैया टिमहरूलाई आ–आफ्नो टिमको नामावलीसहित परिषद्सँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
उनले भने,’मिथिलाञ्चलको मौलिक सांस्कृतिक परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्ने तयारी भएको छ । यसले स्थानीय प्रतिभालाई प्रस्तुत गर्ने प्लेटफर्म मात्र नभई सांस्कृतिक चेतना फैलाउने माध्यमको रूपमा पनि काम गर्नेछ ।’ फागुन १६ गते आयोजना हुने होरी महोत्सवमा विभिन्न होरैया टिमहरूको सहभागिता रहनेछ ।
यस वर्षको महोत्सवले विशेष रूपमा सांस्कृतिक विविधता, स्थानीय संगीत, नृत्य, रंग र हास्य–व्यंग्यका प्रस्तुतिमार्फत जनताको सहभागिता बढाउने लक्ष्य राखेको छ । फागुन १७ गते सम्पन्न हुने ‘ महामूर्ख सम्मेलन’मा हास्य–व्यंग्यका प्रस्तुति, व्यंग्यात्मक वक्तव्य, रंगीन प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश रहनेछ ।
अध्यक्ष मलिल्कले सम्मेलनको उद्देश्यलाई स्पष्ट गर्दै भने, ‘महामूर्ख सम्मेलनले मनोरञ्जन मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने एक माध्यमको रूपमा काम गर्दै आएको छ । यसले सामाजिक व्यवहार, राजनीतिक चेतना र सांस्कृतिक मूल्यहरूको बारेमा सोच्न बाध्य बनाउँछ ।’ यस सम्मेलनले विगतमा राजनीतिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तिहरूलाई ‘महामूर्ख’को उपाधि प्रदान गर्दै आएको छ ।


