२०८२ फाल्गुन १५, शुक्रबार १९:१५

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल ले निर्वाचनमा प्रशासनले कसैप्रति पनि काखापाखा नगर्ने र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि कठोर कारबाही हुने स्पष्ट चेतावनी दिएका छन्।

शुक्रबार गौर पुगेर निर्वाचन सुरक्षाको तयारीबारे स्थलगत जानकारी लिने क्रममा गृहमन्त्री अर्यालले शान्त, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्राथमिक दायित्व भएको बताएका छन्। उनले राजनीतिक अधिकारको प्रयोगमा सबैलाई समान अवसर उपलब्ध गराइने स्पष्ट पार्दै अवैध गतिविधि, धम्की, डरत्रास र अराजकतामाथि शून्य सहनशीलता अपनाइने बताए।

सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिँदै उनले निष्पक्षता र व्यावसायिकता कायम राख्न जोड दिए। “प्रशासन सहजकर्ता हो, तर कानुन मिच्ने कसैलाई पनि उन्मुक्ति दिइँदैन,” उनले भने।

गृहमन्त्रीले हालसम्म भएका तयारीको प्रशंसा गर्दै निर्वाचनलाई सहज र सुरक्षित बनाउन थप निर्देशनसमेत दिए। उनका अनुसार राजनीतिक दल वा उम्मेदवारका आमसभा तथा कोणसभाको जानकारी लिएर एउटै समयमा फरक दलका कार्यक्रम जुध्न नदिने गरी अनुमति दिने व्यवस्था मिलाइनेछ। स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सबै संयन्त्रलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो।

सार्वजनिक शान्ति र सुव्यवस्था कायम राख्न हरसम्भव प्रयत्न गर्ने, त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउने, गैरकानुनी क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउने तथा सर्वपक्षीय–सर्वदलीय संयन्त्रलाई सक्रिय बनाएर वार्ता र संवादमार्फत द्वन्द्व व्यवस्थापन गर्ने विषयमा पनि निर्देशन दिइयो। आचारसंहिता विपरीतका गतिविधि रोक्न कडाइ गरिने र निर्वाचनस्थल कायम भएका विद्यालय तथा सार्वजनिक स्थलको सरसफाइमा ध्यान दिइने उल्लेख गरियो।

धार्मिक तथा सामाजिक द्वन्द्व निवारणका लागि रौतहटवासी सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको भन्दै गृहमन्त्रीले आपसी एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउन अपिल गरे।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले निर्वाचन आयोगको आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, दल वा समर्थकमाथि प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था कडाइका साथ लागू गरिने बताए। दण्डहीनताको अन्त्य गर्दै कानुनको शासन स्थापित गर्नु नै सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

केही समूहले अनावश्यक शंका र अफवाह फैलाउन खोजिरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले त्यस्ता भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरे। “सरकार र आयोग दुवै स्पष्ट छन्, निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ,” उनले विश्वास व्यक्त गरे।

यसअघि रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लाभर निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएका थिए। उनका अनुसार सीमा क्षेत्रदेखि अतिसंवेदनशील मतदान केन्द्रसम्म बहुपरत सुरक्षा व्यवस्था मिलाइएको छ।

सुरक्षा तयारीप्रति सन्तुष्टि व्यक्त गर्दै गृहमन्त्रीसहितको उच्चस्तरीय सुरक्षा टोली फर्किएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। गृहमन्त्री अर्यालसँगै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, बलाधिकृत रथी प्रदीप जंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, सहसचिव आनन्द काफ्ले, सशस्त्र प्रहरी डिआइजी विष्णु भट्ट र उपसचिव रमा आचार्यसहितको सहभागिता रहेको प्रशासनले जनाएको छ।

Comment


Related News

Latest News

Trending News