सर्लाहीमा सब–इञ्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा मुख्य योजनाकारसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सर्लाही प्रहरीको अनुसन्धानबाट जागिर प्राप्त गर्ने उद्देश्यले योजनावद्ध रूपमा हत्या गरिएको खुलासा गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए अनुसार फागुन ३ गते बेलुका करिब ७ः५५ बजे मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सब–इञ्जिनियर प्रमोद कुमार यादवलाई फोन गरी बाहिर बोलाएर गोली प्रहार गरिएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका सब– इञ्जिनियर यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । सर्लाही प्रहरीले घटनापछि प्रविधि, इन्टेलिजेन्स र प्राविधिक विश्लेषण प्रयोग गर्दै मृतकका परिवार, साथी तथा चिनजानका व्यक्तिसंग सोधपुछ गरेको थियो । पोस्टमार्टम रिपोर्टमा छातीमा लागेको गोलीका कारण मृत्यु भएको पुष्टि भएको जनाइएको छ ।
अनुसन्धान क्रममा महोत्तरी घर भइ सर्लाही बरहथवामा बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो मुख्य योजनाकार रहेको खुलासा भएको छ । उनी सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायक पदमा कार्यरत छन् । सर्लाही प्रहरीका अनुसार महतो प्रदेश लोक सेवा आयोग मधेश प्रदेशबाट सब–इञ्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार थिए भने मृतक यादव नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवार थिए ।
नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए आफूलाई स्थायी जागिर मिल्ने बुझेपछि उनले हत्या योजना बनाएको प्रारम्भिक निष्कर्ष छ । गणेश महतोले आफन्त पर्ने चन्द्र किशोर सिंह कुशवाहासंग मिलेर हत्या योजना बनाएको प्रहरीले जनाएको छ । योजनाअनुसार उनले मृतकलाई ‘राकेश यादव’ नाम प्रयोग गरी फोन सम्पर्कमा राखेका थिए ।
घटनाको दिन पनि ह्वाट्सएप कल गरी डेराबाट बाहिर बोलाएर आफ्नै साथमा ल्याएको पेस्तोलबाट गोली प्रहार गरेको थियो । त्यसपछि अभियुक्तहरू मोटरसाइकलमा भागेका थिए । उनीहरुले प्रयोग गरेको मोटरसाइकल रौतहट गढीमाई क्षेत्रस्थित बागमती नदीको बाँध नजिक वेवारिसे अवस्थामा फेला परेको थियो ।
प्रहरीले हतियार खरिदका लागि गणेश महतोले आफ्ना भाई विजय कुमार महतोले दशैंअघि नै ८० हजार रुपैयाँमा किनेर ल्याएको हतियारबाट उक्त घटना भएको पाइएको जनाएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले गणेश कुमार महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो लाई फरक–फरक स्थानबाट पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।
उनीहरूको बयानका आधारमा घटनामा प्रयोग भएको पेस्तोल, गोलीको खोका, भारतीय नम्बर प्लेट भएको मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । निर्माणाधीन मन्दिरभित्र बालकले भेटाएको पेस्तोल पनि यही घटनासँग सम्बन्धित भएको आशंका गरिएको छ भने फरेन्सिक परीक्षणपछि पुष्टि हुने बताइएको छ ।
पक्राउ परेका आरोपितहरूविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको भएको छ । यता सर्लाही प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।



