धनुषाको औरही गाउँपालिका ६ चक्कर स्थित खेतमा शव फेला परेको युवकको हत्यामा संलग्नहरुलाई प्रहरीले खबर पाएको २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ ।
शुक्रवार दिउंसो एक पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालय धनुषाले घटना बारे जानकारी दिएका छन् । प्रहरीका अनुसार सुमितको हत्या उनका प्रेमिकाका काका र भाईले दुवैलाई घरमा संगै बसेको अवस्थामा देखेपछि गरेको हो ।
घटना बारे जानकारी दिदैं जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले भने ‘‘बुधवार सांझ ६ बजे सुमित सोही पालिकाका वडा नम्बर ६ सोनिगामा बस्ने प्रेमिका काजल मण्डलसँग भेटन गएका थिए ।
सोही क्रममा काजलको काका परमेश्र मण्डलले आफ्नो पसल बन्द गरी घरमा आउँदा दुबै जनालाई सँगै बसेको देखि सुमितलाई कोठाबाट बाहिर निकाली काजलका भाई दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडी हात बाँधि खेतमा लगेर धारिलो हतियार दबियाले घाँटी रेटी हत्या गरेको थियो ।’’ घटना पश्चात पक्राउ पर्ने डरले मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले अर्कै ठाउँमा लुकाएर राखिएका थिए ।
घटनामा संलग्न प्रेमिका काजल, उनका काका परमेश्वर र भाई दिपेश तथा घटनामा प्रयोग भएका हतियार समेत नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जनाए ।


