मधेश प्रदेशका प्रदेश प्रमुख रहेका वरिष्ठ साहित्यकार तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभद्वारा लिखित मैथिली कथा–संग्रह ‘स्मृति–दंश’ एक विशेष समारोहबीच जनकपुरधाममा लोकार्पण गरिएको छ ।
साहित्यिक माहोलमा सम्पन्न कार्यक्रममा करिब दुई दर्जन वरिष्ठ साहित्यकार, पत्रकार, प्राध्यापक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पुस्तक सार्वजनिकसँगै संग्रहमा समावेश कथामाथि कथा–वार्ताको समेत आयोजना गरिएको थियो । लेखक डा. लाभकै अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार रेवतीरमण लाल, रामभरोष कापडि ‘भ्रमर’, डा. भोगेन्द्र झा, प्रो. परमेश्वर कापडि, श्यामसुन्दर शशि, हिमांशु चौधरी, वृजकुमार यादव, उमेश साह, नित्यानन्द मण्डल, राजेश कर्ण, कैलास दास, पुरन गुप्ता र पुनम झा मैथिल लगायतका सहभागीहरुले कृतिमाथि आ–आफ्ना धारणा राखेका थिए ।
वक्ताहरूले संग्रहको विषयवस्तु, शिल्प, भाषाशैली र विधागत प्रयोगबारे आलोचनात्मक तथा प्रशंसात्मक टिप्पणी गरेका थिए । एक सय २८ पृष्ठको ‘स्मृति– दंश’मा कुल २६ वटा कथा समेटिएका छन् । पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । संग्रहमा आठ परम्परागत कथा, आठ कथा–रिपोर्ताज र १० लघुकथा रहेको छ ।
यही संरचनाले कृतिलाई केवल कथा–संग्रहको सीमामा नराखी विधागत प्रयोगको महत्वपूर्ण दस्तावेजका रूपमा उभ्याएको समीक्षकहरूको भनाइ छ । कार्यक्रममा बोल्दै डा. भोगेन्द्र झाले मैथिली साहित्यमा कथा–रिपोर्ताज विधाको संगठित प्रयोगलाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । उनका अनुसार मैथिली भाषामा कथा–रिपोर्ताजलाई यसरी व्यवस्थित रूपमा प्रस्तुत गर्ने कृति सम्भवतः पहिलो हो ।
यसले साहित्यिक अभिव्यक्तिलाई नयाँ आयाम दिएको छ । उनले यसलाई समकालीन मैथिली साहित्यका लागि सकारात्मक र उन्नत पहलका रूपमा चित्रित गरे । ‘स्मृति–दंश’ शीर्षकले नै संकेत गरेझैं, स्मृतिका तीखा घाउ, विस्थापनको पीडा, सामाजिक अन्याय, वर्गीय विभाजन र राजनीतिक जटिलताहरू कथाको मूल स्वरका रूपमा उभिएका छन् ।
भाषा सरल र सहज भए पनि कथाहरूको भावभूमि गहिरो सामाजिक यथार्थमा आधारित छ । विशेषगरी प्रवासी जीवनले भोग्दै आएका संघर्ष, पहिचानको संकट र बदलिँदो सामाजिक संरचनाले सिर्जना गरेका तनावहरू कथामा प्रभावशाली रूपमा प्रस्तुत गरिएको सहभागीहरूको टिप्पणी थियो । कार्यक्रमको समापन गर्दै लेखक डा. सुरेन्द्र लाभले प्राप्त सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आगामी संस्करणमा समीक्षात्मक प्रतिक्रियालाई समेट्दै कृतिलाई अझ परिमार्जित र परिष्कृत रूपमा प्रस्तुत गर्ने जनाएका थिए । साहित्यिक वृत्तमा यो कृति समकालीन मैथिली लेखनमा नयाँ प्रयोग र बहसको आधार बन्न सक्ने विश्वास गरिएको छ । ‘स्मृति–दंश’ले स्मृतिका गहिरा घाउलाई शब्दमार्फत अभिव्यक्त गर्दै पाठकलाई आत्मचिन्तनतर्फ उन्मुख गराउने विश्वास कार्यक्रममा सहभागी गरेका छन् ।


