फागुन ४ गतेदेखि जारी १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु शुक्रवार औरही पुगेका छन् शनिवार करुणा पुग्नेछ ।
शुक्रवार औरहीमा विमला नदीको तटमा विश्राम गर्दै शनिवार करुणाका लागि प्रस्थान गर्नेछ । नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौं दिनमा प्रवेश गर्छन् ।
यहाँ करुणा नदीको तटमा विश्राम गर्नेछ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।
१५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटकस्थलको रुपमा प्रसिद्धि दिलाउने गर्दछ । माध्यमिकी परिक्रमामा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको छ ।
मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदैँ आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुसन्त सहभागी हुने गर्दछन् ।
महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने यस धर्मिक यात्रा फागुन पूर्णिमा तिथि पारी होली खेलेर समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधुसन्तहरुको भनाइ छ ।


