जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका महोत्तरी क्षेत्र नम्बर २ का उम्मेदवार शरतसिंह भण्डारी चुनाव नजिकदैं जाँदा प्रचार प्रसार तीव्र पारेका छन् । प्रत्येक दिन बिहानदेखि रातिसम्म क्षेत्रका गाउँहरुमा मतदाताको घर घरमा गई यो चुनावमा मेरो लागि अन्तिम पटकको चुनाव हो भनी मत मागिरहेका छन् ।
अन्तिम पटक भनेर किन मत मागिरहनु भएको छ यो वास्तवमै तपाईको अन्तिम निर्वाचन हो वा चुनाव जित्न कुनै स्टन्ट हो भन्ने जिज्ञासामा उनले यो पटकको चुनाव मेरो लागि अन्तिम नै हो, अब चुनाव नलड्ने बताएका छन् । चुनाव प्रचार प्रसारको घर दैलो कार्यक्रमको क्रममा भण्डारीले भने ‘पंचायती व्यवस्था गणतान्त्रिक व्यवस्थासम्म म १९/१९ पटक चुनाव लडिसकेका छौं, अधिकांश जित नै हासिल गरेको छु ।
उमेरको हिसाबले थाकिसकेकाले यस पटक चुनाव नलडी पुस्तान्तरण गर्ने सोचमा थिए । तर यहाँका जनताको दबावपछि चुनावी मैदानमा उत्रेको हुँ । यस पटकको निर्वाचन म आफ्ना लागि होइन, जनताले आफ्ना लागि मलाई लडाएको हो । त्यसैले यो चुनावमा परिणाम जनतामै निहित छ ।
आउंदो निर्वाचनदेखि के राजनीतिबाट सन्यास लिने हो भन्ने जिज्ञासामा भण्डारीले भने ‘अब सधैं म नै लडौं भएन, आउने पुस्ताले चुनाव लड्नेछ, जहाँसम्म मेरो कुरा हो पार्टीकै राजनीति र जनताको सेवामा लाग्नेछु । यस आम निर्वाचनलाई “पुस्ता जोड्ने अभियान” का रूपमा व्याख्या गरेका छन् । आफू स्वयं उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका भण्डारीले यो निर्वाचनलाई सत्ताको प्रतिस्पर्धा नभई राजनीतिक अनुभव र युवापुस्ताको ऊर्जाबीच सेतु निर्माण गर्ने अवसर भएको बताएका छन् ।
चार दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा संलग्न भण्डारीले विगतका आन्दोलन, अधिकार प्राप्तिका संघर्ष र समावेशी व्यवस्थाका उपलब्धिलाई स्मरण गर्दै अबको प्राथमिकता थप उपलब्धि हासिल गर्ने र प्राप्त उपलब्धिको संस्थागत कार्यान्वयन गर्न मधेश आन्दोलनका नेतृत्व दल जसपा नेपाललाई जनताले जिताउनुपर्छ । “हामीले अधिकारका लागि लड्यौँ, संविधानमा समावेशी व्यवस्था सुनिश्चित ग¥यौँ ।
अब ती उपलब्धिलाई दिगो बनाउँदै विकास र समृद्धिमा रूपान्तरण गर्नु जरुरी छ, त्यसका लागि आउंदो संसदीय व्यवस्थाबाट कार्यान्वयन गराउनुपर्छ । ” उनले भने । साथै नेता भण्डारीले यो निर्वाचनमा नयाँ अर्थका साथ अघि बढेको बताउंदै भने ‘‘पहिला सडक, पोखरी, सामुदायिक भवन, खेतमा पानीको माग जनताले गथ्र्यो तर यस पटकको निर्वाचनमा जनताले गुणस्तरीय शिक्षा र स्वास्थ्य भएन, उच्च शिक्षालयको अभाव छ, राम्रो अस्पतालको आभाव, भ्रष्टाचार र बेरोजगारी समस्याको माग उठाएको छ ।
जनता बल्ल अधिकारका लागि जागेको देखिरहेछु ।’’ यति दिन सरकारमा बसेर के तपाईले के गर्नु भो भन्ने प्रसंगमा उनले भने ‘‘हामीले विगतमा चुनाव जितेर सरकारमा सहभागी हुँदा मूल एजेन्डा नै संविधान संशोधन र आवश्यक परे पुनर्लेखनको बहसलाई राष्ट्रिय मुद्दा बनाएर अघि बढेको छु । देशका धेरै समस्याको जरो नै वर्तमान संवैधानिक संरचना रहेको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको नेकपा माओवादी केन्द्र आदिले बहुमतको दम्भमा बलजफ्ती नेपालको संविधान जारी गरेर मधेशी जनताको अधिकार खोसियो । अन्तरिम संविधानमा उल्लेख कुरा पनि दिएनन् । सरकारमा बसेर मधेश आन्दोलनको जगमा मधेशीलाई अपेक्षा अनुसार अधिकार दिलाउन नसकेपनि धेरै कुराहरु प्राप्त गराउन सफल भएको उनको दाबी छ ।
उनले भने ‘‘मधेशी, दलित, आदिवासी जनजाति लगायतका पिछडिएका वर्गका जनताले पाएको आरक्षण कोटा, मधेश प्रदेश, समानुपातिकमा मधेशीको आरक्षण, नेपाली सेनामा मधेशीको सहभागिता, मधेशमा पहिलाभन्दा बढी बजेट र विकासका थुप्रै कामहरु मधेशवादी दलमा रहेर गराउन सफल भएको छु । तर अब जनताले अपेक्षा गरे अनुसार अधिकार स्थापित गराउन यस पटक जनताले जसपा नेपाललाई जिताउनैपर्छ ।



