२०८२ फाल्गुन १६, शनिबार १६:३४

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहट ले जिल्लाभित्र विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १७ गते आइतबारदेखि २१ गते बिहीवारसम्म रौतहट जिल्लाभित्र विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको हो।

शनिबार जारी सूचनामा जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिमा प्रतिबन्ध उल्लङ्घन गर्ने सवारी साधन तथा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव द्वारा जारी सूचनामा निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सबै सरोकारवाला निकाय, राजनीतिक दल तथा सर्वसाधारणलाई नियमको पूर्ण पालना गर्दै प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।

Comment

Related News

Latest News

Trending News