२०८२ फाल्गुन १६, शनिबार १८:५९

परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन आग्रह गरेको हो।

परराष्ट्रले इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी निकायले जारी गरेका सुरक्षा निर्देशन र परामर्शहरू कडाइका साथ पालना गर्न भनेको छ। सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, अनावश्यक आवतजावत नगर्न तथा आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ।

त्यस्तै, सम्बन्धित देशका अधिकारीको पूर्वस्वीकृति बिना यात्रा नगर्न मन्त्रालयले निर्देशन दिएको छ। इजरायल वा इरान जाने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न पनि आग्रह गरिएको छ।

मन्त्रालयले काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अवीवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ।

अमेरिका र इजरायलले इरानमाथि भीषण हमला गरेपछि इरानले पनि इजरायलका साथै मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा जवाफी हमला सुरु गरेको छ।

Comment


Related News

Latest News

Trending News