२०८२ फाल्गुन १७, आईतवार ०७:०७

इजरायल र इरानबीच आक्रमण शुरू भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । खाडी देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीलाई लिएर चिन्ता भएको हो ।

इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको छ । त्रासको वातावरण रहे पनि नेपालीहरू सुरक्षित रहेका सम्बन्धित देशका दूतावासले जनाएका छन् । दूतावासहरूले सुरक्षित भएर बस्न र सम्पर्कमा रहन नेपालीहरूलाई आग्रह गरेका छन् ।

खाडी क्षेत्रमा झन्डै १९ लाख नेपाली कार्यरत छन् । सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।

साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । दूतावासले आफ्नो कोठा वा सुरक्षित ठाउँमै बस्न भनेको छ ।

नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै, साउदी अरेबियामा रहेका सबै नेपालीलाई सतर्कता अपनाउँदै सुरक्षित रहन अनुरोध गरेको छ । साउदी अरब सरकार र स्थानीय सुरक्षा निकायको आधिकारिक सूचना र सुरक्षा निर्देशनहरूको पूर्णरूपमा पालना गर्न तथा नागरिक सुरक्षासम्बन्धी सिभिल डेफबाट मोबाइलमा आउने म्यासेजलाई नेपालीमा अनुवाद गरी जानकारी राख्न दूतावासले भनेको छ । नेपाल वा अरू देशको यात्रामा जानु परे विमानस्थल जानुअघि सम्बन्धित एअरलाइन्ससँग उडानको तालिकासम्बन्धी जानकारी लिन दूतावासको आग्रह छ ।

कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सावधानी अपनाई सुरक्षित रहन दूतावासले आग्रह गरेको हो । कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र उचित सावधानी अपनाउन दूतावासले भनेको छ । थाहा नभएका स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनामा विश्वास नगर्न पनि दूतावासको आग्रह छ ।

ओमानमा रहेको नेपाली दूतावासले यात्रा गर्नुअघि सम्बन्धित एअरलाइन्ससँग समन्वय गरी सुरक्षा मार्गदर्शन पालना गर्न आग्रह गरेको छ । ओमान सरकारद्वारा जारी आधिकारिक सूचनाहरूलाई नियमित रूपमा अनुशरण गर्न तथा आधिकारिक रूपमा सरकारी स्तरबाट पुष्टि भएका विषयहरूबाहेक अन्य संवेदनशील, अपुष्ट र एआईबाट बनाइएका विषयवस्तुहरू तथा भिडियो आदि पोस्ट गर्ने वा शेयर गर्ने कार्य नगर्न दूतावासले भनेको छ ।

इजरायलको राजधानी तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई इजरायल सरकारले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ । दूतावासले सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, उचित सावधानी अपनाउन र नेपाली समुदायसँग नियमित सम्पर्क गर्न भनेको छ । यात्रा गर्नै परे इजरायलका सम्बन्धित अधिकारीहरूबाट पूर्वअनुमति लिएर मात्र गर्न दूतावासको आग्रह छ ।

यस्तै बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षाका लागि बहराइन सरकारको एप डाउनलोड गरी ‘साइरन अलर्ट’ सक्रिय बनाउन अनुरोध गरेको छ । सुरक्षा संवेदनशीलता र सरोकारको अवस्थाप्रति सचेत र शान्त रहँदै सुरक्षित रहने उपाय र निर्देशनका सम्बन्धमा आ–आफ्ना कम्पनीका निर्देशनबारे जानकारी राख्न दूतावासले भनेको छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका आधिकारिक निकायले जारी गरेका सुरक्षा निर्देशन तथा परामर्श कडाइका साथ पालना गर्न भनेको छ ।

Comment


Related News

Latest News

Trending News