२०८२ फाल्गुन १७, आईतवार १०:१८

इरानले अमेरिकी र इजरायली आक्रमणमा परेर आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि गरेको छ ।

इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले आक्रमणमा गरेर खामेनेकी छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका जनाएको छ ।

यसैबीच सरकारी टेलिभिजनका एक प्रस्तोताले देशमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत अमेरिकी–इजरायली आक्रमणमा परि इरानी सर्वाेच्च नेता खामेनी मारिएका घोषणा गर्नुभएको थियो ।

ट्रम्पले इरानी नागरिक, अमेरिकी र विश्वभरका धेरै देशका मानिसहरूका लागि न्याय भएको भनी लेख्नुभएको छ । उहाँले इरानमाथि बमबारी जारी रहने र इरानी नागरिकका लागि आफ्नो देश फिर्ता लिने यो एक मात्र ठूलो मौका भएको बताउनुभएको छ । धेरै इरानी सेनाहरू अब युद्ध लड्न नचाहेको ट्रम्पको दाबी छ ।

अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ ।

आक्रमणमा परेर इरानमा दुई सय जनाभन्दा धेरै मारिएका रेड क्रिसेन्टले जनाएको छ । यस्तै बालिकाहरू पढ्ने विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन् ।

इरान वरपरका क्षेत्रमा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ । इरानले परमाणु कार्यक्रम अन्त्य गर्न राजी नभए त्यहाँ आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिँदै आउनुभएको थियो । इजरायल सरकारले सार्वजनिक ठाउँहरूमा भेला नहुन र विद्यालयरू बन्द गर्न भनेको छ ।

इजरायलमा गैरसैनिक उडानहरू पूर्णरूपमा बन्द गरिएका छन् । आठ महिनाअघि पनि इजरायल र इरानबीच १२ दिनसम्म युद्ध चलेको थियो । इजरायलले इरानको सैन्य तथा परमाणुस्थलहरूमा बमबारी गरेर वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएपछि इरानले पनि इजरायलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो ।

त्यस बेला अमेरिकाले इरानको भूमिगत परमाणु केन्द्रहरूमा बमबारी गरेर युद्धविरामका लागि दबाव दिएको थियो । इजरायल र इरानबीच दशकौँदेखि दुस्मनी रहँदै आएको छ ।

मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले पनि उडान रद्द गरेका छन् । धेरैजसो देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेका छन् ।

मध्यपूर्वमा तनाव बढेसँगै संयमित हुन र वार्ताबाट समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News