२०८२ फाल्गुन १७, आईतवार १०:५०

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रौतहट जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज केसीले कटहरिया–स्थित नमुना माध्यमिक विद्यालयमा राखिने मतदान केन्द्र तथा मतगणना स्थलको सभाकक्ष निरीक्षणपछि उक्त जानकारी दिएका हुन्।

निर्वाचनका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको निरीक्षण टोलीमा सहभागी दिनेश शागर भुसालले जानकारी दिएका छन्। शान्तिपूर्ण वातावरणमा मतदान हुने विश्वास व्यक्त गर्दै उहाँले रौतहटका मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

निर्वाचनको समय शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत गस्ती सुरु भइसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाको श्री नारायणदल गण ले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जनाएको छ।

फागुन २१ गतेलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक सुरक्षा गस्ती र निगरानी बढाएको छ। जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिम नियन्त्रणमा सक्रियता बढाइएको सेनाको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको छ।

मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिँदै श्री नारायणदल गणले रौतहटका १८ वटै स्थानीय तहमा तैनाथ रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वयमा संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको जनाएको छ। निरीक्षण टोलीमा न्यायाधीश केसी संगै रौतहटका सिडियो दिनेश शागर भुषाल, नेपाली सेनाका कर्णेल बिश्वास बिष्ट, रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल, सशस्त्रका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास,क्षेत्र ३ का निर्वाचन अधिकृत अवधकिशोर कुशवाहा लगायत सुरक्षा अधिकारी तथा निर्वाचन कार्यालयका पदाधिकारीको सहभागिता रहेको थियो।

Comment


Related News

Latest News

Trending News