नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस केन्द्रित ४५ पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।
पार्टी सभापति गगन थापा ले शनिबार ‘सम्मानित मधेस, समुन्नत देश’ नारासहित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै मधेसको अधिकार, समृद्धि र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
यसअघि फागुन ६ गते जनकपुर को तिरहुतियामा आयोजित मधेस सभामा १० भिजनसहितको संघीय प्रतिज्ञा पत्र सार्वजनिक गरिएको थियो भने अहिले १२ मुख्य बुँदामा केन्द्रित मधेस विशेष योजना अघि सारिएको हो ।
पहिलो प्रतिज्ञामा संविधान कार्यान्वयन र पहिचान न्यायलाई जोड दिँदै ‘नागरिकता उपकार होइन, अधिकार हो’ भन्ने स्पष्ट सन्देश दिइएको छ। योग्य नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुने सुनिश्चितता गर्दै नागरिकतालाई कृपा होइन अधिकारका रूपमा व्यवहार गरिने उल्लेख छ । साथै बहुभाषिक नीति कार्यान्वयन, भाषा आयोगको सशक्त भूमिका र स्वतन्त्र संविधान कार्यान्वयन बोर्ड गठन गर्ने योजना अघि सारिएको छ ।
दोस्रो प्रतिज्ञामा संघीयताको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। प्रदेश र स्थानीय तहलाई विकासको इञ्जिन बनाउँदै सेवा घरदैलोमै पु¥याउने, आवश्यक कानुन निर्माण गर्ने र सार्वजनिक अनुगमन प्रणाली विकास गर्ने योजना समावेश गरिएको छ ।
‘काम मधेसमै, कमाई आफ्नै’ नारासहित तेस्रो प्रतिज्ञामा वैदेशिक रोजगारीलाई बाध्यता होइन विकल्प बनाउने घोषणा गरिएको छ। बेरोजगार युवालाई वर्षमा १०० दिन तलबसहितको काम, वैदेशिक रोजगारीबाट फर्केकालाई विशेष अवसर प्याकेज र बिना धरौटी ५ लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउने उल्लेख छ । चौथो प्रतिज्ञामा ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित मधेसका किसानका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) लागू गर्ने, धान, गहुँ, मकै, दाल र उखुमा सुनिश्चित खरिद प्रणाली लागू गर्ने योजना राखिएको छ ।
सिँचाइ, बीमा, बाली संरक्षण र भूमिहीन किसानको समर्थनलाई प्राथमिकता दिइएको छ । पाँचौं बुँदामा मधेसलाई देशको आर्थिक इञ्जिनका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ भने छैटौं प्रतिज्ञामा बाढी नियन्त्रण र जलवायु न्यायलाई विशेष प्राथमिकता दिइएको छ। तराई–मधेस बाढी संरक्षण प्राधिकरण गठन गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।
सभापति थापाले वीरगञ्ज को पानी संकट र हैजाको प्रकोप उदाहरण दिँदै समस्याको जरा समाधान नगरी दीर्घकालीन समाधान सम्भव नभएको बताए । सातौं प्रतिज्ञामा पानी सुरक्षा, महंगी राहत र सुरक्षित आवास; आठौंमा गुणस्तरीय शिक्षा र निःशुल्क स्वास्थ्योपचार; नवौंमा युवा तथा बाल सुरक्षा; दशौंमा महिला उद्यम र न्याय; एघारौंमा पर्यटन तथा सांस्कृतिक समुन्नति र १२औंमा राष्ट्रिय प्राथमिक आयोजनालाई समेटिएको छ ।
कांग्रेसले मधेसको सम्मान र समृद्धिलाई राष्ट्रिय समुन्नतिको आधारका रूपमा प्रस्तुत गर्दै यसपटकको निर्वाचनलाई परिवर्तन र विश्वासको अवसरका रूपमा व्याख्या गरेको छ ।


