भारतको महावाणिज्य दूतावास मार्फत भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
बीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । नेपालमा आगामी निर्वाचनको तयारी तीव्र भइरहेका बेला नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले सहयोगस्वरूप उपलब्ध गराएको चौथो खेपमा ३० वटा एक टन क्षमताका ट्रकसहित अन्य आवश्यक सामग्री समावेश छन् ।
यी सवारी साधनहरू निर्वाचन सामग्री ढुवानी, जनशक्ति परिचालन तथा दुर्गम क्षेत्रसम्म आवश्यक उपकरण पु¥याउन प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले समयमै सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी निर्वाचन सफल, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताए । “निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो। यसलाई प्रभावकारी बनाउन प्राप्त सहयोग महत्वपूर्ण छ,” उनले भने ।
महावाणिज्य दूत मीनाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा घनिष्ठ रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियालाई सुदृढ बनाउन भारत सरकार सदैव सकारात्मक रहेको बताउनुभयो। उहाँका अनुसार लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण र निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउने प्रयासमा भारतले निरन्तर सहयोग गर्दै आएको छ । यसअघि भारत सरकारले निर्वाचन सम्बन्धी सहायताका पहिलो तीन किस्तामार्फत ५८० भन्दा बढी सवारी साधन र अन्य उपकरणहरू नेपाललाई हस्तान्तरण गरिसकेको छ। चौथो किस्तासहित सहयोगको दायरा अझ विस्तार भएको छ ।
दुवै देशबीचको बहुआयामिक विकास साझेदारी अन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार, ऊर्जा तथा विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। निर्वाचन सहयोगलाई पनि त्यही साझेदारीको निरन्तरताका रूपमा हेरिएको छ । विशेषज्ञहरूका अनुसार समयमै उपलब्ध गराइएका सवारी साधन र सामग्रीहरूले दुर्गम तथा भौगोलिक रूपमा जटिल क्षेत्रमा निर्वाचन सामग्री पु¥याउन सहजता ल्याउने अपेक्षा गरिएको छ । यसले निर्वाचनको विश्वसनीयता र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
नेपाल र भारतबीचको आपसी सहयोग, विश्वास र मित्रताको प्रतिकका रूपमा लिइएको यस सहायताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न प्राप्त सहयोग महत्वपूर्ण हुने सरकारी अधिकारीहरूले बताएका छन् ।


