२०८२ फाल्गुन १८, सोमबार ०६:५७

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन मतदान अधिकृतले फागुन १७ गतेदेखि २१ गतेसम्मका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेका छन् ।

मतदान केन्द्रको भौतिक पूर्वाधारदेखि सर्वपक्षीय समन्वय, कर्मचारी परिचालन र मतदान प्रक्रिया व्यवस्थापनसम्मका कामलाई चरणबद्ध रूपमा केन्द्रिय निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार अघि बढाइने मधेश प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यतालिका अनुसार पहिलो चरणमा मतदान अधिकृतले मतदानस्थलको प्रत्यक्ष अवलोकन गर्ने, केन्द्रको संरचना तथा चारै दिशाको अवस्थाको आँकलन गर्ने कार्यक्रम तय गरिएको छ भने सोही दिन स्थानीय तहसँग समन्वय गरी सर्वपक्षीय सम्पर्क र सहयोग जुटाइनेछ ।

मतदानस्थलमा बसोबासको अवस्था, आवतजावतको सहजता तथा सुरक्षा व्यवस्थाबारे जानकारी संकलन गरिनेछ । मधेश प्रदेश निर्वाचन कार्यालय अनुसार फागुन १८ गतेसम्म सर्वपक्षीय भेलाको समय निर्धारण गरिनेछ भने १९ गतेभित्र भेला सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्ने, अनुसूची ३ अनुसार मतदानस्थलको चारै दिशामा सूचना टाँस गर्ने, साथै अनुसूची ४, ५, ६ र ७ सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरिनेछ ।

मतदानस्थलमा गासबासको प्रबन्ध मिलाउने, आवश्यक भौतिक पूर्वाधार तयार पार्ने र व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारीसमेत सोही दिन गरिने जनाइएको छ । फागुन १९ गते सर्वपक्षीय बैठक आयोजना गरी निर्णयहरूको माइन्यूट तयार गरिनेछ । साथै स्वयंसेवक नियुक्ति, कर्मचारीको भूमिका निर्धारण तथा कार्य विभाजन गरिने कार्यक्रम छ ।

मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई नाम रूजू गर्ने, तथ्यांक फाराम भर्ने, औंलामा चिनो लगाउने, प्रतिनिधिसभा (पहुनिहु) र समानुपातिकतर्फका मतपत्र वितरण गर्ने जिम्मेवारी छुट्याइनेछ । कर्मचारी र सुरक्षाकर्मीलाई अभिमुखीकरणसमेत गरिने जनाइएको छ । यसै दिन मतदान केन्द्र निर्माणका लागि आवश्यक सामग्री संकलन तथा परिचयपत्र वितरणको व्यवस्था मिलाइनेछ ।

फागुन २० गतेसम्म मतदान केन्द्र निर्माण कार्य सम्पन्न गरिनेछ । मतदान प्रतिनिधि नियुक्ति गरी परिचयपत्र वितरण (अनुसूची १० अनुसार) गरिनेछ । दुई प्रकारका मतपेटिका (एक प्रतिनिधिसभातर्फ र दुई समानुपातिकतर्फ) तयार गरी पोलबुकमा अभिलेख राखिनेछ । मतदानको दिन फागुन २१ गते बिहान ६ बजेदेखि ६ः५० बजेसम्म सबै कर्मचारीलाई जिम्मेवारीअनुसार स्थान ग्रहण गराइनेछ ।

मतदान प्रतिनिधिको रोहवरमा मतपेटिका रित्तो भएको देखाई यकिन गरिनेछ र त्यसपछि विर्को लगाई शीलबन्द गरिनेछ । शील नम्बर पोलबुकमा टिपोट गरिनेछ र अनुसूची ११ अनुसार मुचुल्का उठाइनेछ । स्वस्तिक छाप जाँच गरी अनुसूची १३ अनुसार मुचुल्का तयार गरिनेछ । मतपत्रको शीलबन्दी प्याकेट खोली अनुसूची १४ अनुसार प्रक्रिया पूरा गरिने जनाइएको छ ।

बिहान ठिक ७ बजे मतपत्रमा दस्तखत गरी मतदान प्रक्रिया सुरु गरिनेछ । मतदानको क्रममा लाइनबाट एक–एक जना मतदाता पठाइने, नाम रूजू गरिने, तथ्यांक फाराममा रेजा लगाइने, औंलामा चिनो लगाइने र त्यसपछि मतपत्र प्रदान गरिने व्यवस्था मिलाइनेछ । एक पटकमा कक्षभित्र एकजना मात्र मतदाता प्रवेश गर्ने सुनिश्चित गरिनेछ ।

प्रतिनिधिसभा र समानुपातिक दुवै मतपत्र छुट्टाछुट्टै खसाएको सुनिश्चित गरिनेछ । मतदान सकेपछि मतदाता बाहिरिएको यकिन गर्ने जिम्मेवारी पनि कर्मचारीलाई दिइएको छ । सम्पूर्ण प्रक्रिया अविच्छिन्न र निष्पक्ष रूपमा सञ्चालन गर्न मतदान अधिकृतले नेतृत्व गर्ने जनाइएको छ । मतदान सम्पन्न भएपछि मतपेटिकाको प्वाल बन्द गरी अनुसूची २४ अनुसार मुचुल्का तयार गरिनेछ । त्यसपछि मतपत्र फाँटवारी (अनुसूची २५) र खाद (अनुसूची २६) तयार गरिनेछ ।

निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने सम्पूर्ण कागजातहरू खुला खाममा राखी बुझाइनेछ । यसमा सबै मुचुल्का, तथ्यांक फाराम, पोलबुक, परिचयपत्र तथा बुझाएको फाराम दुई–दुई प्रति समावेश गरिनेछ ।

Comment


Related News

Latest News

Trending News