२०८२ फाल्गुन १९, मंगलवार ०८:२३

यही फागुन २४ गते यूएइ उड्ने तयारीमा महोत्तरीको बालकृष्ण थापा थिए । म्यानपावर कम्पनीलाई साढे दुई लाख रूपैयाँ बुझाएर यूएई उड्न झोला पोको पारिसकेका उनी ऋणमा डुब्ने पिरमा परेका छन् ।

म्यानपावरलाई तिरेको सबै पैसा उनले सयकडा तीनका दरले ऋणमा लिएका छन् । यूएइमा सेक्युरिटी गार्डको काममा जान पाउने भएपछि ऋण गरेरै भए पनि साढे दुई लाख रूपैयाँ पैसा तिरेको उनी बताउँछन् । त्यस्तै उनी जस्तै अछामका चक्रबहादुर खड्का पनि २२ फागुनमा कतार उड्ने तयारी गरिरहेका थिए । उनले कतारमा इलेक्ट्रिसियनको काममा जान म्यानपावर कम्पनीलाई ९० हजार रूपैयाँ बुझाएका छन् ।

युद्ध चर्किँर्दै गए हातमा आइसकेको रोजगारी र ऋण काँढेको ९० हजार रूपैयाँ कसरी तिर्ने भन्ने पिरमा उनी परेका छन् । खाडीका देशमा युद्ध चर्किँदा यीनै देशमा रोजगारीमा जाने तयारी गरिरहेका बालकृष्ण र चक्रबहादुरजस्ता हजारौँ युवा अलमलमा छन् । वैदेशिक रोजगार विभागको तथ्यांकले पछिल्लो समय दैनिक सरदर झण्डै २५ सय नेपालीले रोजगारीका लागि देश छोड्ने बताए । तर खाडी क्षेत्रमा तनाब बढेपछि रोजगारीमा जान म्यानपावरलाई पैसा तिरिसकेका र भिसा लागेर टिकटसमेत काटिसकेकाहरू अलमलमा परेका छन् ।

गएको शनिबार त घरबाट बिदा भएर विमानस्थल पुगेका सयौँ श्रमिक अलपत्र परेका थिए । उडान हुन्छ कि भन्ने आस बोकेर कयौँ यात्रुहरू विमानस्थल पुगेका थिए । यूएइको पिभोट कम्पनीमा काम गरिरहेका गुल्मीका रमेश भुसाल डरैडरमा दुई दिन बिताएको बताउँछन् । रमेशले आफू नेपाल फर्किन चाहेको कुरा यूएईमा रहेको नेपाली दूतावासलाई पनि फोन र सामाजिक सञ्जालमार्फत जानकारी गराए । कुवेतमा कार्यरत आनन्द आचार्य पनि यतिबेला डर र चिन्तामा छन् ।

आकाशमा मिसाइलहरू निष्क्रिय भइरहेका दृश्य हेर्दै उनी काम गरिरहेका छन् । साउदीमा रहेका रमेश कुमार सिटौला भने अहिले त्यहाँको अवस्था सामान्य नै रहेको बताउँछन् । सधैँझैँ नियमित काम चलिरहेको छ । कतारको अवस्था भने ढुक्क हुन सक्ने नरहेको त्यहाँ कार्यरत सुदीप कुँवरले बताए । अहिले कतारमा धेरैजसो निजी कम्पनीहरू अस्थायी रूपमा बन्द गरिएको छ । कतार सरकारले घरभित्रै बस्न र बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । तर आइतबारदेखि भने त्यहाँ रहेका श्रमिकहरू आत्तिन थालेको सुदीपले बताए ।

नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडीका ६ देश र मलेसिया रहेका छन् । गएको माघ महिनामा मात्रै ७० हजार ५०३ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि जाँदा सबैभन्दा धेरै यूएइ गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यूएई जानका लागि मात्रै माघ महिनामा १५ हजार १३७ जनाले श्रम स्वीकृति लिएका छन् । यूएइपछि साउदी अरेबीया जाने नेपालीहरूको संख्या धेरै छ । साउदी जान ११ हजार ५९२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै माघ महिनामा कतार जानका लागि ११ हजार ५८०, कुवेतका लागि ५ हजार ४४३, ओमान जानका लागि १२ सय ५ र बहराइन जानका लागि ११ सय २७ जनाले श्रम स्वीकृति लिएका छन् ।

खाडी देशमा अहिले १७ लाख २९ हजार २८८ नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार नेपाली कार्यरत रहेका छन् । त्यस्तै बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएइमा झण्डै ७ लाख नेपाली रहेका छन् । यसका साथै इरान ६ जना, इजरायलमा ६ हजार ५ सय, इजिप्टमा ५ सय, लेवलानमा १५ सय, इराकमा ३० हजार र साइप्रस १७ हजार नेपाली रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खाडीका देश जान टिकट काटिसकेका वा प्रक्रिया गरिरहेका नेपाली श्रमिकलाई रोजगारी गुम्ने चिन्ता नलिन आग्रह गरेको छ । अमेरिका– इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकका अमेरिकी सैन्य अखडाहरूमा इरानले गरेको जवाफी हमलासँगै खाडी क्षेत्रमा युद्ध छेडिएको छ । इरानले यूएइमा गरेको हमलामा परी एक नेपालीको ज्यानसमेत गइसकेको छ ।

नेपालीको मुख्य श्रम गन्तव्य देशमा युद्ध चर्किएपछि सरकारले साउदी अरेबीया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।

युद्धका कारण खाडीका देशमा तनाब बढ्दै गएपछि त्यहाँ रहेका १७ लाख भन्दा बढी नेपालीको सुरक्षा र उद्धारका लागि आवश्यक परे संघले नेपाल सरकार र गन्तव्य देशका कम्पनीहरूसँग सहकार्य र समन्वय गर्ने पनि संघका अध्यक्ष गुरुङले बताए ।

पछिल्लो परिस्थितिलाई मध्येनगर गर्दै श्रम स्वीकृति दिन बन्द गरिए पनि स्थिति सामान्य हुनासाथ तत्काल श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले बताए । अहिले खाडीका देश यूएइ, कतार, साउदी, ओमान, कुवेत, बहराइनजस्ता देशमा पनि इरानले मिसाइल आक्रमण गरिरहेको छ ।

Comment


Related News