चुनावी प्रचारप्रसारको अन्तिम दिन मौन अवधि सुरु हुनुअघि सोमबार साँझ रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिका–६, बेदौली गाउँमा भएको घटनामा मन्सुरी घाइते भएका हुन्। आक्रमणका कारण उनको नाकको हड्डी भाँचिएको चिकित्सकले पुष्टि गरेका छन्।
घटनापछि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार गराइएको थियो। उपचारपछि उनी हाल गुजरा स्थित आफ्नै निवासमा आराम गरिरहेका छन्।
मन्सुरीका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टी अध्यक्ष प्रभु साह को घरदैलो कार्यक्रम चलिरहेकै बेला केही विपक्षी कार्यकर्ताले डिजे बजाउँदै कार्यक्रम बिथोल्न खोजेका थिए। सो क्रममा विवाद बढ्दा आफूले सम्झाउन खोजेको तर धक्कामुक्का भएको र एक अपरिचित युवकले टाढाबाट लौरो प्रहार गर्दा नाकमा चोट लागेको उनले बताए।
घटना लगत्तै प्रहरी टोली पुगेपछि अवस्था नियन्त्रणमा आएको थियो। प्रहरी देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएका जनाइएको छ। मन्सुरीले आक्रमणमा जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केही स्थानीय कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन्।
उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।



