२०८२ फाल्गुन २०, बुधबार ०७:३१

मध्यपूर्वमा चलिरहेको युद्धको चौथो दिन हिजो इरानको राजधानी तेहरानसहित विभिन्न शहरमा शक्तिशाली विस्फोटका घटना भएका छन् । इन्टरनेट प्रतिबन्धका कारण क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म झण्डै ९ सय जनाको ज्यान गएको छ ।  यद्यपि वास्तविक संख्या अझ धेरै हुन सक्ने अनुमान छ । इरानका अधिकारीहरूले तेहरानमा रहेको गोलेस्तान दरबार परिसर र आसपासका बजार क्षेत्रमा क्षति पुगेको बताएका छन् र युनेस्कोसँग प्राविधिक सहयोग मागेका छन् ।

धार्मिक शहर कुममा रहेको मजलिस–ए–खबरेगानको सचिवालयमा पनि हवाई आक्रमण भएको छ । इजरायली पक्षले तेहरानका सरकारी भवनहरू निशाना बनाएको दाबी गरेको छ भने इरानले तेल अवीवमा मिसाइल आक्रमण गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले नातान्ज परमाणु केन्द्रको भूमिगत संरचनाको प्रवेशद्वारमा क्षति देखिएको जनाएको छ । युद्धका कारण खाडी क्षेत्रमा हवाई सेवा गम्भीर रूपमा प्रभावित भएको छ । कतार एयरवेज र एतिहाद एयरवेजका धेरै उडान स्थगित गरिएका छन् । यात्रुहरूलाई उडान पुष्टि नभएसम्म विमानस्थल नजान आग्रह गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि धेरै ढिलो भइसकेको बताउनुभएको छ । इरानका प्रवक्ताले आक्रमण रोकिए मात्र समाधान सम्भव हुने प्रतिक्रिया दिनुभएको छ ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओमान, कुवेत र कतारका नेतासँग टेलिफोन वार्ता गर्दै बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । युद्ध चर्किँदै जाँदा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सक्रिय बन्दै गएको र कूटनीतिक समाधान तत्काल देखिन नसकेको अवस्था छ ।

Comment


Related News

Latest News

Trending News