२०८२ फाल्गुन २०, बुधबार १३:०५

भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहटमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले जिल्लाभर व्यापक सुरक्षा निगरानी सुरु गरेको हो।

जिल्लाका मतदान स्थल र संवेदनशील क्षेत्रहरूमा बख्तरबन्द गाडी, मोटरसाइकल तथा पैदल गस्ती परिचालन गरिएको छ। यसैबीच मङ्गलबारदेखि हवाई गस्तीसमेत सञ्चालनमा आएको नारायण दल गण, गौर–पुरेनवाका प्रमुख कर्णेल विश्वाश विष्टले जानकारी दिए।

उनका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना अनुरूप नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी संयुक्त गस्ती सञ्चालन भइरहेको छ। “मतदाताले निर्धक्क भएर मतदान गर्न सकून् भन्ने वातावरण तयार गरिएको छ,” कर्णेल विष्टले भने, “कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च पारिएको छ।”

रौतहटका १८ वटै पालिकामा हालसम्म ५३ सुरक्षा युनिट खडा गरिएको छ। जिल्लाका चारै निर्वाचन क्षेत्रमा मेजरको कमाण्डमा ७५० जना नेपाली सेना परिचालन गरिएको गणले जनाएको छ।

यसअघि रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकार सम्मेलनमार्फत निर्वाचन सुरक्षाका लागि जिल्लाभर १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका थिए।

Comment


Related News

Latest News

Trending News