२०८२ फाल्गुन २०, बुधबार १५:४२
वीरगञ्जमा धार्मिक सद्भाव भड्काउन खोज्ने ३ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा तीनजनालाई नियन्त्रणमा लिइएको हो ।
वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव पक्राउ परेका हुन् । उनीहरूको साथबाट सुँगुरको टाउको, नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको छ ।
अनुसन्धानमा उनीहरूले धार्मिक हिंसा फैलाउन सुँगुरको टाउको मस्जिदमा फाल्ने योजना बनाएको खुलेको छ । सुँगुरलाई इस्लाममा हराम मानिन्छ । त्यसमाथि अहिले रमजानको पवित्र महिना चलिरहेकोले सुँगुरको टाउको मस्जिदमा पुगेको भए निकै ठूलो धार्मिक द्वन्द्व हुने जोखिम थियो ।



