२०८२ फाल्गुन २१, बिहीबार ०६:४४

प्रतिनिधिसभा सदस्यको निर्वाचन बिहीबार हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले अन्तिम तयारी पूरा गरेको छ । यस निर्वाचनमा देशभर र विशेष गरी मधेश प्रदेशको सहभागिता निकै उत्साहजनक देखिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता दर्ता भएका छन् । यसमा करिब ८ लाख नयाँ युवा मतदाता थपिएको जनाइएको छ । प्रतिनिधि सभाको २७५ सिटका लागि कुल ६ हजार ५४१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

प्रत्यक्ष १६५ सिटका लागि ३,४०६ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फको ११० सिटका लागि ३,१३५ जना प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी मधेश प्रदेशमा यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचन सबैभन्दा बढी चासोको केन्द्र बनेको छ । यहाँका ३२ निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिएको छ । मधेश प्रदेशमा मात्रै ३५ लाखभन्दा बढी मतदाता रहेका छन् ।

मधेशको ३२ सिटका लागि कुल १ हजार ५४ जना उम्मेदवारले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये धनुषामा सबैभन्दा बढी १५४ जना उम्मेदवार, त्यसपछि सप्तरीमा सबैभन्दा कम १०४ जना उम्मेदवार रहेका छन् । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा (सर्लाही–४), जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव (सप्तरी–३) र जनमत पार्टीका अध्यक्ष सीके राउत (सप्तरी–२) जस्ता दिग्गज नेताहरूको भाग्य निर्धारण हुने भएको छ ।

मधेश प्रदेशबाट ३६ लाख ३६ हजार ४१४ जनाले मतदान गर्न पाउने भएका छन् । प्रत्येक जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा कुल ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका अनुसार प्रदेशका ८ जिल्लामा १९ लाख ७२ हजार ९६४ जना पुरुष, १६ लाख ६३ हजार ३७४ जना महिला र ७६ जना लैगिंक तथा अल्पसंख्यक (अन्य) मतदाता रहेका छन् ।

यो मधेश प्रदेशको कुल जनसंख्याको ५९.४७ प्रतिशत छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा ६१ लख १४ हजार ६ सय जनसंख्या रहेको जनाइएको छ । जसमा पुरुष ३० लाख ६५ हजार ७५१ र महिला ३० लाख ४८ हजार ८४९ छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशमा धनुषामा सबैभन्दा बढी मतदाता रहेका छन् भने पर्सामा सबैभन्दा कम मतदाता छन् ।

धनुषामा ५ लाख १४ हजार ५७१ जना मतदाता छन् । जसमा पुरुष २ लाख ७६ हजार १२६, महिला २ लाख ३८ हजार ४३५ र अन्य १० जना छन् । त्यस्तै सर्लाहीमा ५ लाख ११ हजार ६०६ जना मतदाता छन् । जसमा २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य छन् ।त्यस्तै बारामा ४ लाख ६५ हजार ७८४ जना मतदाता छन् भने यहाँको कुल जनसंख्या ७ लाख ६३ हजार १३७ हो ।

सिरहामा ४ लाख ५३ हजार ६४५ जना मतदाता रहेकोमा यहाँको जनसंख्या ७ लाख ३९ हजार ९५३ रहेको तथ्यांक छ। सिरहामा कुल जनसंख्याको ६१.३१ प्रतिशत मतदाता छन् । त्यस्तै सप्तरीमा ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ ७ लाख ६ हजार २५५ जनसंख्या रहेको छ ।

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशको तथ्यांकअनुसार रौतहटमा ४ लाख ३६ हजार ६११ जना मतदाता रहेका छन् । यहाँको जनसंख्या ८ लाख १३ हजार ५७३ रहेको छ । त्यस्तै महोत्तरीमा ४ लाख ३१ हजार २८२ जना मतदाता रहेका छन् । त्यस्तै प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका अनुसार सबैभन्दा कम मतदाता पर्सामा ३ लाख ७६ हजार ५१३ रहेको छ ।

पर्साको जनसंख्या ६ लाख ५४ हजार ४७१ रहेको जनाइएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशमा २ हजार १६० वटा मतदानस्थल र ४ हजार ४७१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका अनुसार सप्तरीमा २९६ वटा मतदान स्थल र ५६२ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै सिरहामा २२३ वटा मतदानस्थल र ५३१ वटा मतदान केन्द्र, धनुषामा ३२२ वटा मतदानस्थल र ६४५ वटा मतदान केन्द्र, महोत्तरीमा २५८ वटा मतदानस्थल र ५३६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै सर्लाहीमा ३१२ वटा मतदानस्थल र ६२८ वटा मतदान केन्द्र, रौतहटमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र, बारामा ३०५ वटा मतदान स्थल र ५८७ वटा मतदान केन्द्र तथा पर्सामा १६७ वटा मतदानस्थल र ४४१ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News