निर्वाचन भाँड्ने गतिविधि गरेको आरोपमा दुई र पैसा बाँडेका आरोपमा एकसहित तीन जना धनुषाबाट पक्राउ परेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बहुमत पार्टीका जिल्ला सचिव नागेन्द्र दास र क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सचिव नन्दु कुमार झालाई पक्राउ गरिएको हो । धनुषाका एसपी रुगमबहादुर कुँवरले दिएको जानकारी अनुसार निर्वाचन भाँड्ने गतिविधि गरेको आरोपमा यिनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दासकोबाट विभिन्न उम्मेदवारहरुको नाममा निर्वाचनमा भाग नलिन चेतावनी सहितको पत्र, मतदानमा सहभागी नहुन मतदाताको नाममा अपिल पत्र लगायतका कागजातहरु फेला परेको हो । निर्वाचन विपरितका कागजात तिनीहरुको साथबाट फेला पर्नुका साथै धनुषाका मिथिला नगरपालिका ९ र धनुषा महोत्तरी जिल्लाको सीमा रहेको रातुपुलमा भएको बम विस्फोटमा समेत तिनीहरुको संलग्नता प्रारम्भिक अनुसन्धानमा देखिएको उनको भनाई छ ।
झाको साथबाट केही फेला नपरेपनि निर्वाचन बहिष्कार गर्ने गठबन्धनमा आबद्ध दलका पदाधिकारी हुन भने बम विस्फोट लगायतका घटना र निर्वाचन भाँड्ने गतिविधिमा प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानमा देखिएको एसपी कुँवरले जनाएको छ ।
पैसा बाँड्ने पक्राउ
यसैबीच धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई रकम वितरण गरेको आरोपमा मंगलबार मध्य रातितिर क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरबाट स्थानीय राजकिशोर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुगम बहादुर कुँवरका अनुसार करिब राति १२ बजे प्रहरी टोलीले महरालाई ४८ हजार ५ सय रुपैयाँ नगद र खर्च विवरण उल्लेख गरिएको डायरीसहित फेला पारेको थियो । घटनास्थलमा उनीसँगै रहेका अन्य तीन जना भने प्रहरी पुग्नेबित्तिकै फरार भएका छन् ।
मतदातालाई पैसा बाँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीमाथि कारबाही अघि बढाएको हो। पक्राउ परेका महरालाई थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला निर्वाचन कार्यालय धनुषामा बुझाइएको प्रहरीले जनाएको छ । स्थानीय स्रोतका अनुसार महरा धनुषा–४ का उम्मेदवार तथा नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ निकट मानिन्छन् । केही स्थानीयले उनलाई महासेठको ‘डमी’ उम्मेदवारको रूपमा प्रस्तुत गरिएको दाबी गरेका छन् ।
यसअघि महासेठका विभिन्न चुनावी कार्यक्रममा महरा सहभागी हुँदै आएको पनि बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



