२०८२ फाल्गुन २१, बिहीबार ०६:५८

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषामा अभूतपूर्व सुरक्षा सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर कडा सुरक्षा रणनीति लागू गर्दै कुनै पनि अप्रिय गतिविधि हुन नदिन बहु–तहको सुरक्षा घेरा तयार गरेको जनाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा सदरमुकाम जनकपुरधामसहित चारवटै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन थालेको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन गत १६ फागुनदेखि जनकपुर विमानस्थल नेपाली सेनाको प्रत्यक्ष निगरानीमा राखिएको छ । विमानस्थल क्षेत्रलाई संवेदनशील सूचीमा राख्दै सेनालाई जिम्मेवारी दिइएको प्रशासनले स्पष्ट पारेको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन समन्वित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । “धनुषाको कुनै पनि कुनामा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र अतिरिक्त सुरक्षा फोर्स पुग्ने व्यवस्था मिलाइएको छ,” उनले दाबी गरे ।

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अस्थायी रूपमा खटाइने निर्वाचन प्रहरी गरी संयुक्त रूपमा सुरक्षा घेरा बनाइएको हो । प्रत्येक मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइनेछन् भने अति संवेदनशील केन्द्रहरूमा अतिरिक्त बल राखिनेछ ।

मोबाइल गस्ती टोली, रिजर्भ फोर्स र द्रुत प्रतिक्रिया टोली (क्विक रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । नेपाल–भारत खुला सीमाका कारण धनुषा सदैव संवेदनशील मानिँदै आएको छ । निर्वाचनका बेला बाह्य हस्तक्षेप वा अवाञ्छित गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ ।

प्रजिअ लुइँटेलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले सीमावर्ती नाकाहरूको स्थलगत अनुगमन गरेका छन् । सीमामा आवतजावत गर्ने सवारी साधन र व्यक्तिहरूमाथि कडाइ गरिएको छ भने शंकास्पद गतिविधिमाथि तत्काल कारबाही गर्ने निर्देशन दिइएको छ । भारतीय सीमासँग जोडिएका गाउँहरूमा समेत गस्ती तीव्र पारिएको सुरक्षा स्रोतले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले अघिल्ला निर्वाचनका अनुभव, भौगोलिक अवस्था र राजनीतिक गतिविधिका आधारमा मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील श्रेणीमा वर्गीकरण गरेको छ । अति संवेदनशील मानिएका क्षेत्रमा क्यामेरा निगरानी, थप जनशक्ति र नियमित गस्तीको व्यवस्था गरिएको छ ।सुरक्षा स्रोतका अनुसार मतदान अघिल्लो रातदेखि नै मतदान केन्द्र वरपरको क्षेत्र ‘सिल’ गरिनेछ । अनधिकृत भीडभाड, जुलुस वा प्रदर्शनमा पूर्ण रोक लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्र, प्रमुख सरकारी कार्यालय, दलका कार्यालय तथा आवागमनका मुख्य मार्गहरूमा विशेष चेकजाँच सुरु गरिएको छ । विमानस्थल क्षेत्रलाई विशेष सुरक्षा घेराभित्र राखिएको छ ताकि बाह्य व्यक्तिको आवागमनमार्फत कुनै अवाञ्छित गतिविधि हुन नपाओस् ।

प्रहरीले होटल, गेस्ट हाउस तथा भाडामा बसोबास गर्ने व्यक्तिहरूको विवरण अद्यावधिक गर्न समेत निर्देशन दिएको छ । शंकास्पद गतिविधि देखिए तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अपिल गरिएको छ । प्रजिअ लुइँटेलले जिल्लावासीलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । सूचना संकलन, गुप्तचर परिचालन र जोखिम विश्लेषणलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै धनुषामा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’ मा राखिएको छ । जनकपुर विमानस्थल सेनाको जिम्मामा, सीमा क्षेत्रमा उच्च निगरानी, ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन र सात मिनेटभित्र अतिरिक्त फोर्स पुग्ने दाबीले प्रशासनले कुनै पनि जोखिम नलिने संकेत दिएको छ ।

Comment


Related News

Latest News

Trending News